काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सुशासन र दिगो समृद्धिको मूल आधार स्वजागरण भएको बताएकी छन् । बुधबार आयोजित ‘सुशासन र समृद्धिका लागि स्वजागरण’ कार्यक्रममा उनले स्वजागरण आध्यात्मिक अभ्यासमा मात्र सीमित नभई व्यक्तिगत अनुशासन, सामाजिक जिम्मेवारी र नैतिक प्रशासन निर्माणको प्रभावकारी जीवन पद्धति भएको स्पष्ट पारिन् ।
प्रधानमन्त्री कार्कीका अनुसार स्वजागरणले नागरिकलाई आन्तरिक रूपमा शान्त, सचेत र जिम्मेवार बनाउने तथा बाह्य रूपमा कर्तव्यनिष्ठ र समृद्ध समाज निर्माणमा सहयोग पुर्याउँछ । स्वजागृत व्यक्तिले अधिकार मात्र होइन, आफ्नो कर्तव्यबारे पनि सचेत हुने उनले बताइन् ।
नेपालको मौलिक दर्शन, संस्कार र आध्यात्मिक परम्परामा आधारित स्वजागरणमार्फत जनशक्ति विकास र शासकीय सुधार अपरिहार्य भइसकेको उल्लेख गर्दै उनले सुशासन र समृद्धिको लक्ष्य राज्य संयन्त्रमा मात्र सीमित नहुने बताइन् । निजी क्षेत्र, नागरिक समाज र विशेषगरी प्रविधिमैत्री तथा सचेत युवापुस्ताको सक्रिय सहभागिताविना समावेशी र दिगो सुशासन सम्भव नहुने उनको भनाइ छ ।
प्रकाशित मिति: ३० पुस २०८२, बुधबार













प्रतिक्रिया