काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीभित्र कुनै एक व्यक्तिको प्रचार गर्नु उपयुक्त नहुने स्पष्ट पारेका छन्।
नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) बीचको समायोजन कार्यक्रममा सम्बोधन गर्दै उनले पार्टी सामूहिकतामा आधारित भएकाले व्यक्ति होइन, संगठनको विचार र कामको प्रचार हुनुपर्ने बताए।
उनले पार्टीका नेताहरूले गरेका सकारात्मक कामहरूलाई अगाडि ल्याउनुपर्ने र कमजोरी देखिए त्यसको जिम्मेवारी लिन सक्ने संस्कार विकास गर्नु आवश्यक रहेको धारणा राखे। व्यक्तिको प्रशंसामै केन्द्रित हुँदा पार्टी कमजोर बन्दै गएको उदाहरण देखाउँदै उनले एमालेप्रति लक्षित टिप्पणीसमेत गरे।
सहसंयोजक नेपालले पार्टीलाई जनताको आशा र भरोसाको केन्द्रका रूपमा स्थापित गर्नु आजको मुख्य चुनौती भएको उल्लेख गर्दै त्यसका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए।
उनले भने, “पार्टीभित्र राम्रा कामको प्रचार हुनुपर्छ। कमजोरी छन् भने त्यसको जिम्मा लिनुपर्छ। तर यसको अर्थ कुनै नेता विशेषको प्रचार होइन। यो पार्टीको प्रचार हो। हाम्रो पार्टी सामूहिकतामा विश्वास गर्छ। विभिन्न पार्टीहरूको अवस्थाबाट हामीले पाठ सिक्नुपर्छ। विगतका एकताका प्रयासहरूबाट पनि अनुभव लिन आवश्यक छ।
कार्यक्रममा उनले पार्टीमा समाहित भएका विभिन्न घटकहरूलाई एकताबद्ध बनाएर अघि बढ्न प्रशिक्षण तथा वैचारिक कार्यक्रमहरूलाई प्राथमिकता दिनुपर्नेमा पनि जोड दिए।
प्रकाशित मिति: ३० पुस २०८२, बुधबार













प्रतिक्रिया