काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले आफूलाई जिम्मेवारी सुम्पने नेता तथा कार्यकर्ताको शिर निहुरिने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

सभापति पदमा निर्वाचित भएपछि विशेष महाधिवेशनस्थलमा नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई सम्बोधन गर्दै उनले पार्टी सदस्यहरूले कांग्रेस भएकोमा गर्व गर्ने वातावरण निर्माण गर्ने दृढता व्यक्त गरे। थापाले आफूलाई दिइएको विश्वासलाई कहिल्यै कमजोर हुन नदिने स्पष्ट पारे।

advertisement

“जुन विश्वासका साथ सभापतिको जिम्मेवारी सुम्पिनुभएको छ, त्यो विश्वासमा कसैको पनि शिर निहुरिने अवस्था आउन दिने छैन। नेपाली कांग्रेसको शान जोगाउनेछु। पार्टीमा लागेका सम्पूर्ण साथीहरूले कांग्रेस भएकोमा गर्व गर्ने अवस्था बनाउँछु। नागरिक अप्ठ्यारोमा पर्दा ‘कांग्रेस छ’ भन्ने अनुभूति दिलाउने काम पार्टीले गर्नेछ,” थापाले भने।

उनले विशेष महाधिवेशनलाई नेपाली कांग्रेसको इतिहास मात्र नभई आधुनिक नेपालको राजनीतिक इतिहासमै भुइँ तहका कार्यकर्ताले गरेको सबैभन्दा ठूलो हस्तक्षेपको रूपमा वर्णन गरे। “भुइँ तहका कार्यकर्ता भनेका नागरिक र जनताका प्रतिनिधि हुन्। यो नागरिकले दलभित्र गरेको हस्तक्षेप हो,” उनले स्पष्ट पारे।

सभापति थापाले नेपाली कांग्रेस कुनै हालतमा नफुटेको जिकिर गर्दै वैधानिक रूपमा विशेष महाधिवेशन सम्पन्न हुँदा पार्टी विभाजन भएको भन्ने प्रश्न नै नउठ्ने बताए।

यसअघि केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले गगनकुमार थापा सभापति पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए।

प्रकाशित मिति: १ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com