सुनसरी । सुनसरीको भोक्राह नरसिंह गाउँपालिका–स्थित सोनियापट्टीमा आज बिहान मार्बल बोकेको ट्रक पल्टिँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
विराटनगरबाट मार्बल बोकेर हुलाकी राजमार्ग हुँदै राजविराजतर्फ जाँदै गरेको १ ख ४५४१ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। दुर्घटनामा सुनसरीको बर्जु गाउँपालिका–१ निवासी ३२ वर्षीय बिरेन्द्र गुरुङ, ५५ वर्षीय ब्रह्मदेव गुरुङ, ५० वर्षीय टेकबहादुर गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्रबहादुर गुरुङको ज्यान गएको हो।
प्रहरीका अनुसार, ट्रकको अगाडिको क्याबिनमा चालकसहित चार जना र पछाडिको भागमा पाँच जना सवार थिए। लोड गरिएको मार्बलका कारण पछाडिको भागमा रहेका पाँचै जनाको मृत्यु भएको डिएसपी चन्द्र खड्काले जानकारी दिए। क्याबिनमा सवार तीन जना घाइते भएका छन्, जसको विराटनगरमा उपचार भइरहेको छ। ट्रक चालक भने फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटना आज बिहान करिब ५:३० बजे भएको हो। सडक घुमाउरो भएकाले तीव्र गतिका कारण ट्रक अनियन्त्रित भई पल्टिएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १ माघ २०८२, बिहिबार













प्रतिक्रिया