काठमाडौँ । एघारौँ राष्ट्रिय योग दिवस आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको निर्णयअनुसार माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाउने व्यवस्था गरिएको हो। तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्री नरहरि आचार्यको प्रस्तावमा मन्त्रिपरिषद्ले यो दिवस घोषणा गरेको थियो।
यसअघि विसं २०३६ देखि उत्तरायण सुरु हुने दिन पारेर नेपालमा डा. हरिप्रसाद पोखरेलको सक्रियतामा योगसम्बन्धी संस्थाहरूको सहभागितामा योग दिवस मनाउन थालिएको थियो। वैदिक कालमा हिमालय क्षेत्रमै प्रतिपादित योग समयक्रममा नेपालमै ओझेलमा परेपछि यसको पुनर्जागरणका लागि राष्ट्रिय योग दिवस घोषणा गरी जनचेतना जगाउने प्रयास सुरु गरिएको हो।
प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति र स्वास्थ्य लाभ गरिन्थ्यो। आधुनिक जीवनशैलीका कारण बिर्सिँदै गएको योगप्रति पछिल्लो समय पुनः आकर्षण बढ्दै गएको छ। आयुर्वेदसँग योगलाई जोड्दै नरदेवी आयुर्वेद अस्पताल र क्षेत्रीय आयुर्वेद चिकित्सालय विजौरी दाङमा योग अभ्यासमार्फत स्वास्थ्य लाभ दिइँदै आएको छ।
नेपालमा योग तथा प्राकृतिक चिकित्साको औपचारिक अध्ययन अध्यापन नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत वाल्मीकि विद्यापीठमा हुँदै आएको छ। योग दिवस मनाउन थालेपछि योग र आयुर्वेद क्षेत्र विस्तार हुँदै गएको सरोकारवालाहरूको भनाइ छ।
उत्तरायण सुरु हुने मकर सङ्क्रान्ति अर्थात् माघ १ गतेलाई योग र ध्यान साधनाका लागि महत्वपूर्ण मानिने भएकाले सरकारले यही दिन राष्ट्रिय योग दिवस घोषणा गरेको हो। यस अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा भक्तपुरमा मूल कार्यक्रम आयोजना हुँदैछ।
प्रकाशित मिति: १ माघ २०८२, बिहिबार












प्रतिक्रिया