काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले गालीगलौजलाई नै राजनीति ठान्ने विकृत प्रवृत्तिबाट न देश बन्ने र न राजनीतिक दल बलियो हुने स्पष्ट पारेका छन्। कांग्रेसलाई एकताबद्ध बनाउन नसकेको आरोप लागेपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले यस्तो धारणा राखेका हुन्।
उनले आफ्ना आलोचक र शुभेच्छुकहरूको चासोप्रति सम्मान व्यक्त गर्दै लेखेका छन्, “साथीहरूको चासो र चिन्तालाई म हृदयदेखि स्वागत गर्छु। सबैलाई एउटै रेलमा सँगै अघि बढाउने चाहना थियो। तर यात्रु बोलाउँदै–बोलाउँदै रेल अघि बढिसक्यो। यही ढंगले यात्रा जारी रह्यो भने दुवै रेल यात्रुविहीन हुन सक्छन्। त्यसपछि मात्र ‘सँगै हिँडौँ’ भन्ने अवधारणाको वास्तविक अर्थ बुझिनेछ। त्यस दिन प्रमाणित हुनेछ— हाम्रो प्रयास स्वार्थ वा व्यक्तिगत लाभका लागि होइन, सत्य र जिम्मेवारीबाट प्रेरित थियो।”
भण्डारीले अहिले समाजभरि विकृति मौलाउँदै गएको उल्लेख गर्दै गम्भीर प्रश्न पनि उठाएका छन्। “आज हाम्रो नेपाली पाठ्यक्रम र सामाजिक नैतिक शिक्षाको दिशा नै उल्टो भएको हो कि भन्ने प्रश्न उब्जिएको छ। सत्य र असत्य छुट्याउने विवेक किन हराउँदै गयो?” उनले लेखेका छन्। सत्य नबुझी, जिम्मेवारी नबोकी गालीलाई राजनीति ठान्ने रोगी मानसिकताबाट न देश बन्छ न पार्टी, उनको भनाइ छ।
उनले थप लेखेका छन्, “आफ्नै घर भत्काएर जनताको विश्वास जितिन्छ भन्ने भ्रम कसले रोप्यो? सत्य, अनुशासन र जिम्मेवारी बिना न पार्टी बलियो हुन्छ, न मुलुक टिक्छ, न लोकतन्त्र सुरक्षित रहन्छ।”
प्रकाशित मिति: २ माघ २०८२, शुक्रबार












प्रतिक्रिया