काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले आफूले शब्दभन्दा कामलाई प्राथमिकता दिएको स्पष्ट पारेका छन्। भूकम्प सुरक्षा दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले यस्तो दाबी गरेका हुन्।

पोस्टमा उनले २०७२ सालको भूकम्पपछि सिभिल इन्जिनियरको रूपमा देशका विभिन्न भागमा काम गरेको स्मरण गरेका छन्। “काभ्रेमा मात्र करिब २५ सय घर निर्माण गरियो। त्यसपछि गोरखादेखि देशका ३५ भन्दा बढी जिल्लामा सिभिल इन्जिनियरका रूपमा काम गर्ने अवसर पाएँ,” उनले लेखेका छन्। भूकम्प सुरक्षा दिवसको अवसरमा अब फेरि त्यस्तो विनाशकारी दिन नआओस् भन्ने कामना समेत उनले व्यक्त गरेका छन्।

advertisement

उनका अनुसार देशका विभिन्न भूगोलमा इन्जिनियरको रूपमा काम गर्दा एउटा महत्वपूर्ण पाठ सिकियो— नेपालजस्तो भूकम्पीय जोखिम भएको मुलुक केवल सिभिल इन्जिनियरिङबाट मात्र बन्दैन। “भौगोलिक बनावटसँगै विविध समाजलाई माथि उठाउन अनेक पाटालाई सँगै अघि बढाउनुपर्छ। राष्ट्र विकास भनेको भूगोल र जनताको संयुक्त विकास हो, र तिनलाई जोड्ने सेतुको बलियो आधार निर्माण गर्नु हो,” उनले उल्लेख गरेका छन्।

शाहले सुरक्षित राष्ट्र निर्माणका लागि स्ट्रक्चरल इन्जिनियरिङ, दीर्घकालीन योजना, मौलिक र आधुनिक विकासबीच सन्तुलन, जिम्मेवार नीति तथा इमानदार नेतृत्व अपरिहार्य भएको बताएका छन्। यही बुझाइका आधारमा भारत गएर स्ट्रक्चरल इन्जिनियरिङ अध्ययन गरेको र अध्ययनपछि सुविधा सम्पन्न देशमा बस्ने अवसर हुँदाहुँदै पनि स्वदेश फर्किने निर्णय गरेको उनले बताएका छन्।

काठमाडौँ महानगरपालिकाको प्रमुखको जिम्मेवारी सम्हाल्दै गर्दा आफूहरूले शब्दभन्दा कामलाई प्राथमिकता दिएको उनले दोहोर्‍याएका छन्। “स्थानीय तहले आफ्ना अधिकार प्रयोग गरेर आम जनताको सुविधाका लागि प्रभावकारी काम गर्न सकिन्छ भन्ने प्रमाणित गरेका छौँ,” उनले लेखेका छन्। महानगरबाट आम नागरिकले प्रत्यक्ष अनुभूति गर्ने सेवा, पारदर्शी प्रणाली र संरचनागत सुधारको सुरुवात भएको र अब ती अभ्यासलाई राष्ट्रिय स्तरमा विस्तार गर्ने समय आएको उनको भनाइ छ।

शाहले नेपालको विकास सडक, भवन र ठूला संरचनामा मात्र सीमित नभएको स्पष्ट पारेका छन्। “विकास भनेको सुरक्षित संरचना निर्माण गर्नु, देशको आवश्यकता र जनताको आशालाई जीवित राख्दै देशमै केही गर्न सकिन्छ भन्ने वातावरण सिर्जना गर्नु हो,” उनले भनेका छन्। संस्थागत विकास र समुन्नति कागजमा मात्र नभई हरेक नागरिकले अनुभूति गर्न सक्ने हुनुपर्ने उनको जोड छ।

अन्त्यमा उनले स्ट्रक्चरल इन्जिनियरको रूपमा आफूले बुझेको कुरा स्पष्ट रहेको उल्लेख गर्दै लेखेका छन्, “अब देशलाई अल्पकालीन निर्णय होइन, दीर्घकालीन दृष्टिकोण चाहिएको छ। लोकप्रिय नारा होइन, इमानदार नेतृत्व चाहिएको छ।” नेपाललाई सुरक्षित, दिगो र व्यवस्थित बनाउने उद्देश्यसहित आफू राजनीतिमा आएको बताउँदै उनले यो अभियान कुनै एक व्यक्तिको नभई सुरक्षित भविष्य चाहने सबै नेपालीको साझा अभियान भएको उल्लेख गरेका छन्।

प्रकाशित मिति: २ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com