काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान अवस्थाको लोकतान्त्रिक निकासका लागि निर्वाचन एक मात्र विकल्प भएको बताउँदै समाजका सबै तह र समूहबाट सहयोगको अपेक्षा गरेकी छन्।
आज बिहान नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलसँग भएको भेटमा उनले देश अब चुनावको मार्गमा लागेको र यो सामान्य चुनाव नभई मुलुकलाई स्थिरता र दिगो समाधानतर्फ लैजाने चुनाव भएको उल्लेख गरिन्। उनले भदौ २३ र २४ लाई यस सन्दर्भमा स्मरण गर्न भने।
प्रधानमन्त्री कार्कीले आगामी चुनावमा युवाको आकांक्षाअनुसार नयाँ, युवा र इमानदार सांसद चयन गर्न आग्रह गरिन्। उनले भनिन्, “पुरानो मानसिकताले अब देश चल्दैन। अब नयाँ, युवा र इमानदार नेतृत्व आउनुपर्छ। युवाको भावनाअनुसार शासन सञ्चालन हुनुपर्छ।
चुनावमा पैसाको खेल रोक्न समुदाय स्तरबाट सतर्कता अपनाउनुपर्ने पनि उनले औँल्याइन्। “भ्रष्टाचार अन्त्य गर्ने हो भने यसको सुरुवात चुनावबाटै हुनुपर्छ। मतदाता यसमा चनाखो हुनुपर्छ, उनले थपिन्।
भेटका क्रममा तामाङ समुदायको जनसंख्या, संस्कृति, आर्थिक र सामाजिक अवस्था लगायत विषयमा छलफल भएको थियो। घेदुङले आउँदो माघ ५ गते सोनाम ल्होछारको अवसरमा काठमाडौंमा आयोजना हुने तामाङ सांस्कृतिक महोत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री कार्कीलाई प्रमुख अतिथिका रुपमा उपस्थित हुन अनुरोध गरेका थिए।
साथै, घेदुङले तामाङ समुदायको वास्तविक जनसंख्या ३० लाखभन्दा बढी भए पनि जनगणनामा भएको त्रुटिका कारण करिब १७ लाख मात्रै देखिएको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको पनि जानकारी दिइयो।
प्रकाशित मिति: २ माघ २०८२, शुक्रबार













प्रतिक्रिया