काडमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले पार्टीका तत्कालीन महामन्त्रीहरूले झुट बोलेको आरोप लगाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विखण्डन रोक्न नसकिएको विषयमा स्पष्ट पार्दै यस्तो बताएका हुन्।
खड्काका अनुसार विशेष महाधिवेशनको औचित्य मङ्सिर १५ गते केन्द्रीय कार्यसमितिको बैठकले सर्वसम्मत रूपमा ल्याएको नियमित महाधिवेशनको तालिकासँग सकिएको थियो। उक्त बैठकमा निवर्तमान महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले समेत सहमति दिएका थिए।
तर, प्रतिनिधिसभाको निर्वाचन अघि बढिसकेको र राष्ट्रियसभाको उम्मेदवारी दर्ता भइसकेको समयमा पार्टीमा बखेडा झिकेर “विशेष महाधिवेशन” नाममा भेला बोलाइएको खड्काले आपत्ति जनाए। उनले भने, “विशेष महाधिवेशनको नाममा काम अघि बढाइएको जानकारी प्राप्त भयो। विशेष महाधिवेशन गर्ने भनेको पार्टी विखण्डन पार्ने हो। जनताले पार्टीमा गरेको भरोसा टुट्छ।”
खड्काले सभापतिलाई दोष दिनु झुट भएको र यो अवस्थाको लागि देउवालाई दोष दिनु गलत भएको पनि स्पष्ट पारे। उनका अनुसार, “विशेष महाधिवेशन बोलाउने अधिकार कुनै पनि सभापति, कार्यवाहक सभापति वा महामन्त्रीलाई विधानले दिएको छैन। नियमित र विशेष महाधिवेशन बोलाउने अधिकार केवल केन्द्रीय कार्यसमिति र कार्यालयलाई मात्र छ।”
खड्काका अनुसार कांग्रेसको नियमित वा विशेष महाधिवेशन ४० प्रतिशत प्रतिनिधिको मागबाट मात्र सुरु हुन सक्छ, तर गर्ने वा नगर्ने निर्णय लिने अधिकार मात्र केन्द्रीय कार्यसमितिसँग हुन्छ।
प्रकाशित मिति: २ माघ २०८२, शुक्रबार













प्रतिक्रिया