काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्धारित समयमा निर्वाचन हुनेमा ढुक्क हुन सबैलाई आग्रह गरेका छन्। चितवन पुगेर आज भरतपुर महानगरपालिकाको प्रशासकीय भवन उद्घाटनपछि बोल्दै उनले चुनाव हुने–नहुनेबारे उत्पन्न अन्योल निराधार भएको बताए।

प्रचण्डले सरकार, राजनीतिक दलहरू तथा नेपालप्रति चासो राख्ने कूटनीतिक क्षेत्र सबैले निर्वाचन चाहेको उल्लेख गर्दै भने,  हामी अहिले निर्वाचनको मुखमा छौँ। सबैले सोधिरहेका छन्, चुनाव हुन्छ कि हुँदैन? मैले स्पष्ट भन्छु, चुनाव हुन्छ।” संविधानसभा निर्वाचनको उदाहरण दिँदै उनले अघिल्लो दिनसम्म पनि शंका रहे तापनि अन्ततः चुनाव भएको स्मरण गराए।

advertisement

उनका अनुसार निर्वाचन आयोगमा समानुपातिक सूची बुझाइसकिएको छ र प्रत्यक्षतर्फको मनोनयन मिति पनि नजिकिँदै छ। हाम्रो पार्टीले त हिजोबाटै प्रत्यक्षतर्फ टिकट वितरण सुरु गरिसकेको छ, उनले भने,  सरकार, राजनीतिक दल र जनताले चुनावी मानसिकतासहित तयारी गरिरहेका छन्, त्यसैले निर्वाचन अवश्य हुन्छ।

प्रचण्डले निर्वाचनबाहेक अहिले मुलुकका लागि अर्को कुनै उपयुक्त विकल्प नरहेको पनि बताए। अरू विकल्प असहज छन् र दुर्घटना निम्त्याउन सक्छन्, उनले भने,  निर्धारित समयमा स्वच्छ र निष्पक्ष निर्वाचन गराउनु नै सबैको दायित्व हो।

भदौ २३ र २४ पछि २६ गते राति राष्ट्रपति र प्रधानसेनापतिसँग भएको छलफलमा तत्काल अन्तरिम सरकार बनाएर निर्वाचनमा जानुपर्ने सुझाव आफूले दिएको पनि उनले जानकारी गराए। राष्ट्रको गरिमा जोगाउन जनतामाझ जानु नै एक मात्र विकल्प रहेको उनको भनाइ थियो।

नेपाली कांग्रेसको विशेष महाधिवेशन र आन्तरिक विवादका कारण निर्वाचन नहुने हो कि भन्ने अन्योलबारे उनले सरकार, निर्वाचन आयोग र सुरक्षा निकायसँग बुझ्दा कांग्रेसको विवादले निर्वाचन प्रक्रियामा असर नपर्ने प्रतिक्रिया पाएको बताए।

प्रचण्डले कांग्रेसको विभाजन र आधिकारिकताको विषयमा छिट्टै निरूपण हुने र त्यसपछि निर्वाचन प्रक्रिया अघि बढ्ने दाबी गरे। “कांग्रेसको आधिकारिकताको टुंगो लागेपछि निर्वाचन प्रक्रिया अगाडि बढ्छ, उनले भने,  सरकार र अन्य राजनीतिक दलहरू प्रतिबद्ध देखिएका छन्। यो परिस्थितिमा सहजीकरणका लागि सबैलाई अपिल गर्न चाहन्छु।

प्रकाशित मिति: २ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com