काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालको प्रयोग पार्टीको हितमा गर्न नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।
नेकपा एमाले राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रममा बोल्दै उनले सामाजिक सञ्जालमा कुन विषयमा कससँग लड्ने, के खण्डन गर्ने र के प्रशंसा गर्ने भन्ने स्पष्ट हुनु आवश्यक भएको बताए।
अध्यक्ष ओलीले भने, ‘हामीले राम्रो कमेन्टमा समर्थन गर्नुपर्छ, लाइक गर्नुपर्छ र नराम्रा कुरालाई खण्डन गर्न पनि नबिर्सनुपर्छ।’ उनले सामाजिक सञ्जालमा अरुमार्फत नभई आफैँ सक्रिय भएर योगदान दिन नेता–कार्यकर्तालाई निर्देशन दिए।
‘हरेकको हात–हातमा मोबाइल छ। हामी आफैँ सामाजिक सञ्जालका योद्धा हौं। हरेकले यो लडाईं लड्नुपर्छ,’ ओलीले भने। उनले दिनमा कमसेकम १० वटा एसएमएस पठाउन, १० वटा फेसबुक स्ट्याटस लेख्न, पार्टीका कामका बारेमा जानकारी दिन र राम्रा कुराहरू प्रचार गर्न सुझाव दिएका छन्।
ओलीले कमेन्ट र स्ट्याटसलाई समर्थन गर्न पनि आग्रह गरे। उनले भने, ‘साथी–भाइले गरेका राम्रा कुरामा लाइक त थितिदिनुस्। यो गाह्रो कुरा होइन। विरोधीले विरोध गरे पहिला कुरा बुझेर कमेन्ट गर्नुहोस्।’
उनले नेता–कार्यकर्तालाई सामाजिक सञ्जालमार्फत पार्टीको दृष्टिकोण प्रचार गर्ने, विरोधीको गलत सूचना खण्डन गर्ने र सकारात्मक सामग्री फैलाउने अभियानमा सक्रिय रहन निर्देशन दिएका छन्।
प्रकाशित मिति: २ माघ २०८२, शुक्रबार













प्रतिक्रिया