काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतका घटनालाई लिएर सधैँ त्रसित भइरहनु नपर्ने बताएका छन्। एमाले राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीको काम र उपलब्धि जनतासम्म प्रभावकारी रूपमा पुर्याउन कार्यकर्तालाई आग्रह गरे।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई लक्षित गर्दै ओलीले उनीहरूको भविष्य कसले निर्धारण गर्छ भन्ने उनीहरूलाई नै थाहा नभएको टिप्पणी गरे। ‘यिनको रिमोट कहाँ छ, यिनलाई आफैँ थाहा छैन,’ उनले भने।
ओलीले एमालेले गरेका काम जनतामा पुर्याउन सके मात्रै पनि चुनाव जित्न सकिने दाबी गरे। उनले कहिलेकाहीँ सामान्य असावधानीका कारण पनि नकारात्मक घटना हुने भन्दै विरोधीहरूले खतरनाक योजना बनाइरहेको आरोप लगाए।
उनले अहिले न्यायालय र निर्णय गर्ने निकायका व्यक्तिहरूमाथि समेत धम्की आउने अवस्था सिर्जना भएको बताए। फेक नम्बर र लुकेर धम्की दिनेहरू आफैँ डराएको आरोप लगाउँदै उनले आमनेसामने आएर कुरा गर्ने साहस नभएको टिप्पणी गरे।
यस्तै, ‘जेनजी’ को नाममा सिंहदरबार र महान्यायाधिवक्ताको कार्यालयमा पुराना अनुहार देखिएको उल्लेख गर्दै ओलीले ‘जेनजीको मुखुण्डोभित्र अर्कै तत्त्व लुकेको’ दाबी गरे।
प्रकाशित मिति: २ माघ २०८२, शुक्रबार













प्रतिक्रिया