कालीकोट । शुभकालिका गाउँपालिका–४ सल्लेरीमा शुक्रबार साँझ करिब ६ बजे जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सेरी–पान्तडी सडकखण्डको सल्लेरीमा उकालो चढ्ने क्रममा भे१ज २८९८ नम्बरको जीप ब्याक भएर दुर्घटनामा परेको हो।
दुर्घटनामा दुई जना स्काभेटर अपरेटर र एक जना सहचालकको घटनास्थलमै मृत्यु भएको कालीकोटका प्रहरी प्रमुख हिमबहादुर खत्रीले जानकारी दिए। मृत्यु हुनेमा दैलेखको आठबिस नगरपालिका निवासी २८ वर्षीय शङ्कर कठायत, अछामका टेकेन्द्र शाही तथा कालीकोटको शुभकालिका गाउँपालिका–२ का सहचालक नवराज शाही रहेका छन्। उनीहरू तीनै जना सेरी–पान्तडी सडक खन्ने काममा संलग्न थिए।
प्रहरीका अनुसार भीरबाट तीनै जनाको शव निकालेर सडकसम्म ल्याइएको छ भने परीक्षणका लागि आफन्तलाई बोलाएर सदरमुकाम लैजाने तयारी भइरहेको छ। दुर्घटनाग्रस्त जीप सडकबाट करिब ५०० मिटर तल तिला नदीको किनारामा टुक्राटुक्रा अवस्थामा फेला परेको छ।
जिप चालक प्रहरीको सम्पर्कमा आइसकेको भए पनि हालसम्म सोधपुछ हुन बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको जानकारी पाएलगत्तै सदरमुकाम मान्मबाट प्रमुख जिल्ला अधिकारी गोर्कणराज सुयल, प्रहरी प्रमुख खत्री, जनपद तथा सशस्त्र प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो।
प्रकाशित मिति: ३ माघ २०८२, शनिबार













प्रतिक्रिया