काठमाडौ । नवलपरासी (बर्दघाट सुस्तापूर्व): देवचुली नगरपालिका–११ स्थित आश्रम चोकमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
शुक्रबार साँझ धारापानीबाट दलदलेतर्फ जाँदै गरेको ग १ ज ५९३० नम्बरको पिकअप भ्यान र विपरीत दिशाबाट आउँदै गरेको ग प्र ०४–००१ प ९१०६ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा स्कुटरमा सवार दुई जना घाइते भएका थिए।
घाइतेमध्ये स्कुटर चालक रुकुम जिल्लाको मुसिकोट नगरपालिका–८ स्थायी घर भई हाल देवचुली नगरपालिका–९ मा मामा घरमा बस्दै आएका २६ वर्षीय चेतनबहादुर खड्काको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए।
दुर्घटनामा घाइते भएका स्कुटर पछाडि सवार देवचुली नगरपालिका–८ निवासी २१ वर्षीय नारायण परियारको उपचार जारी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न पिकअप भ्यान र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए।
प्रकाशित मिति: ३ माघ २०८२, शनिबार













प्रतिक्रिया