काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई आगामी दिनमा एकताबद्ध बनाएर अघि बढाइने स्पष्ट पारेका छन् । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि आज केन्द्रीय कार्यसमितिको बैठकअघि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
सभापति थापाले विगतका तिक्तता र मतभेदलाई बिर्सेर कांग्रेसलाई एक ढिक्का बनाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । निर्वाचन आयोगले गरिसकेको निर्णयलाई सबैले स्वीकार गर्दै अब भविष्यतर्फ केन्द्रित हुनुपर्नेमा उनले जोड दिए ।
उनले पार्टीभित्रका अग्रज नेताहरूलाई सम्मानसहित सँगै हिँडाउने र नयाँ पुस्ताका युवाहरूलाई समेटेर संगठनलाई बलियो बनाइने बताए । साथै, पूर्वसभापति शेरबहादुर देउवाको अभिभावकत्व र संरक्षकत्वको भूमिकालाई महत्व दिँदै एक–दुई दिनभित्र सिङ्गो कांग्रेसलाई एक ठाउँमा उभ्याउने वातावरण बनाउने प्रयास भइरहेको जानकारी दिए ।
फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवार टुङ्ग्याउने समय नजिकिँदै गएको उल्लेख गर्दै सभापति थापाले समयको चाप रहे पनि सबैलाई साथमा लिएर पार्टीलाई अघि बढाउने दृढता व्यक्त गरे ।
प्रकाशित मिति: ३ माघ २०८२, शनिबार













प्रतिक्रिया