काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचन आयोगले माघ २ गते गरेको निर्णय संविधान, प्रचलित कानून तथा पार्टी विधानविपरीत रहेको दाबी गरेका छन् ।

शनिबार सानेपामा बसेको देउवा पक्षीय केन्द्रीय कार्यसमितिको बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता महतले निर्वाचन आयोगले एकलौटी रूपमा निर्णय गरेको आरोप लगाउँदै त्यसविरुद्ध न्यायका लागि सर्वोच्च अदालत जाने घोषणा गरे ।

advertisement

उनका अनुसार निर्वाचन आयोगले २०८२ माघ २ गते गरेको निर्णय नेपालको संविधान, प्रचलित कानून र नेपाली कांग्रेसको विधानको व्यवस्था विपरीत रहेको ठहर बैठकले गरेको छ । कथित विशेष महाधिवेशनको नाममा गरिएको भेलाको औचित्य, वैधानिकता तथा उपस्थित संख्या समेत यथोचित रूपमा नहेरी एकलौटी ढंगले गरिएको निर्णय दूषित मनसायबाट प्रेरित रहेको निष्कर्ष बैठकले निकालेको उनले बताए ।

प्रवक्ता महतले यस्तो निर्णय दुर्भावनाबाट प्रेरित भएको र यसले देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसलाई गम्भीर क्षति पुर्‍याउने स्पष्ट उद्देश्य देखिएको बैठकको ठहर रहेको उल्लेख गरे ।

उनका अनुसार बैठकले विधिवत् रूपमा निर्वाचित केन्द्रीय कार्यसमितिलाई अवैधानिक तरिकाले परिवर्तन गर्ने प्रयासलाई लोकतान्त्रिक व्यवस्थामाथिको आघातका रूपमा व्याख्या गरेको छ । साथै, उक्त निर्णय मुलुकको लोकतान्त्रिक प्रणालीलाई दुर्घटनातर्फ धकेल्ने षड्यन्त्रको एक अंश भएको दाबी पनि बैठकले गरेको छ ।

निर्वाचन आयोगको निर्णयप्रति कडा आपत्ति जनाउँदै बैठकले त्यसविरुद्ध संवैधानिक तथा कानूनी उपचार खोज्ने र राजनीतिक रूपमा पनि प्रतिवाद गर्ने निर्णय गरेको महतले जानकारी दिए ।

उनले आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिने र सर्वोच्च अदालतलाई नै अन्तिम निकासका रूपमा लिइने स्पष्ट पारे ।

प्रकाशित मिति: ३ माघ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com