काठमाडौं । नेपाली कांग्रेसले शेरबहादुर देउवा पक्ष अदालत गएर चुनावको मुखमा पार्टीलाई संकटमा नपार्ने विश्वास व्यक्त गरेको छ ।
गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिले आधिकारिकता पाएपछि बसेको पहिलो केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता देवराज चालिसेले नेपाली कांग्रेस सबैको साझा पार्टी भएको बताएका हुन् ।
यद्यपि, शेरबहादुर देउवा पक्ष निर्वाचन आयोगको निर्णयप्रति असन्तुष्टि जनाउँदै भोलि सर्वोच्च अदालत जाने तयारीमा रहेको बताइएको छ । यस सन्दर्भमा प्रवक्ता चालिसेले पार्टीभित्र असहमति हुनु स्वाभाविक भए पनि त्यसलाई लोकतान्त्रिक ढंगले व्यवस्थापन गरिने स्पष्ट पारे ।
‘असहमति हुन्छन्, तर यो पार्टी सबैको हो । असहमत मतको रक्षा पार्टीले गर्छ,’ उनले भने, ‘हिजोका घटनाका आधारमा कुनै आग्रह वा पूर्वाग्रह पार्टीले राख्दैन । विगतका कारण देखाएर टिकट वितरणमा पनि पार्टीले कसैप्रति अन्याय गर्दैन ।’
उनले सबै पक्षलाई समेटेर पार्टीलाई एकताबद्ध बनाउँदै निर्वाचनतर्फ अघि बढ्ने कांग्रेसको लक्ष्य रहेको पनि स्पष्ट पारे ।
प्रकाशित मिति: ३ माघ २०८२, शनिबार













प्रतिक्रिया