ललितपुर । नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने जिम्मेवारी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिएको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको देउवा पक्षको केन्द्रीय कार्यसमितिको बैठकले आयोगको निर्णयविरुद्ध कानुनी लडाइँ अघि बढाउन खड्कालाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको हो । शुक्रबार निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई आधिकारिकता दिएका थिए र देउवा नेतृत्वको कार्यसमितिलाई अवैध ठहर गरेको थियो ।

advertisement

मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “निर्वाचन आयोगले गरेको निर्णयको विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्न, कानुनी कारबाही गर्न र अन्य आवश्यक कदम चाल्न कार्यवाहक सभापति श्री पूर्णबहादुर खड्कालाई अख्तियारी प्रदान गरिएको छ।

देउवा पक्षले आयोगको निर्णय नेपालको संविधान, प्रचलित कानून र पार्टी विधान विपरीत रहेको ठहर गरेको छ । बैठकले आयोगको निर्णय ‘दुराशयपूर्ण’ र ‘दूषित मनसाय’बाट प्रेरित भएको निष्कर्ष निकालेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, तथा कथित विशेष महाधिवेशनको नाममा गरिएको भेलाको औचित्य, वैधानिकता र उपस्थित संख्या समेत नहेरी एकलौटी रूपमा गरिएको निर्णय दूषित मनसायले प्रेरित रहेको बैठकले ठहर गर्दछ।

देउवा पक्षले देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीको विधिवत निर्वाचित कार्यसमितिलाई अवैधानिक रूपमा परिवर्तन गर्नु लोकतान्त्रिक व्यवस्थामाथि आघात पुर्‍याउने षड्यन्त्रको एक हिस्सा भएको आरोप लगाएको छ । बैठकले आयोगको निर्णयविरुद्ध कानुनी उपचार खोज्ने तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय समेत गरेको छ।

 

प्रकाशित मिति: ३ माघ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com