काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा आफू उम्मेदवार नबन्ने घोषणा गरेका छन्।
शनिबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले एउटै व्यक्ति सधैं पदमा टाँसिरहनु हुँदैन भन्ने मान्यताका साथ आफूले मार्गप्रशस्त गर्न चाहेको बताएका हुन्।
उपसभापति शर्माले आफूले राजनीति सुरु गर्दा र पहिलो पटक चुनाव लड्दा नै जनतासँग निश्चित बाचा गरेको स्मरण गरे।
उनले भने, ‘२०७० सालमा पहिलो पटक चुनाव लड्दै गर्दा नै मैले भनेको थिएँ, म सदैव उम्मेदवार भइरहने होइन। तीन पटक लगातार उम्मेदवार बन्छु, त्यसपछि साथीहरूका लागि मैदान छोड्छु भन्ने मेरो प्रतिबद्धता थियो।’
शर्माले झापाको मेचीनगर, धुलाबारीमा आयोजित एक कार्यक्रममा बोल्दै आफूले १२ वर्षअघि नै यो प्रतिबद्धता जनाएको र अहिले त्यसैलाई कार्यान्वयन गर्न लागेको स्पष्ट पारे।
‘पटक-पटक एउटै व्यक्ति उम्मेदवार बन्ने कुरा ठीक हुँदैन, त्यसैले मैले बाटो छोड्न लागेको हुँ,’ उनले थपे।
आगामी चुनाव नलड्ने घोषणा गरे पनि उनले सधैंका लागि भने नभएको स्पष्टीकरण दिए। ‘मैले उम्मेदवारी नदिने भनेको साथीहरूलाई पालो दिनका लागि हो,’ शर्माले भने, ‘यसको अर्थ विश्वप्रकाशले अब सदैवका लागि राजनीति छोड्यो भनेर नबुझ्नुहोला।’
लगातार तीन पटक संसदीय निर्वाचनमा उम्मेदवार बनिसकेकाले अबको पालो अन्य योग्य सहकर्मीहरूको रहेको शर्माको तर्क छ।
यसअघि २०७९ सालकाे निर्वाचनमा शर्मा झापा-१ बाट ३९,६२४ मतसहित विजयी भएका थिए।
प्रकाशित मिति: ३ माघ २०८२, शनिबार













प्रतिक्रिया