काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ।
प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ मा भाग लिन दर्ता भएका राजनीतिक दलसँग आयोगले निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयन सम्बन्धी छलफल गरेको छ। यो छलफल आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त डा. जानकीकुमारी तुलाधर र सगुनशम्शेर जबरा, तथा सचिव कृष्णबहादुर राउतको उपस्थितिमा सम्पन्न भएको थियो।
छलफलमा उपस्थित दलहरूले आउँदो निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गराउने प्रतिबद्धता जनाए। उनीहरूले नेपालको संविधान, निर्वाचन आयोग ऐन, राजनीतिक दल ऐन, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, निर्वाचन (कसुर तथा सजाय) ऐन र निर्वाचन आचारसंहिता लगायतका कानुनको इमान्दारितासाथ पालन गर्ने प्रतिवद्धता व्यक्त गरे।
आयोगले दलहरूलाई निर्वाचन आचारसंहिता, उपसमितिहरू, निर्वाचन अधिकृत र मतदान अधिकृतको बोलाएको समयमा उपस्थित हुने प्रतिबद्धता व्यक्त गर्न आग्रह गरेको छ। यससँगै अनुगमन प्रभावकारी बनाउने, सामाजिक सञ्जालमा फैलिने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति नियन्त्रण गर्ने, आयोग सचेत रहनुपर्ने सुझाव पनि प्राप्त भएको छ।
छलफलमा उठेका प्रश्न र जिज्ञासाबारे कार्यवाहक प्रमुख आयुक्त भण्डारीले सबै दललाई निषेधको राजनीति नगरी कानुनको पालना गर्दै निर्वाचनमा सहभागी हुन आग्रह गरे।
केन्द्रीय आचारसंहिता अनुगमन समितिका संयोजक आयुक्त सगुनशम्शेर जबराले सामाजिक सञ्जाल नियमनका लागि आयोगले “सोसियल मिडिया मनिटोरिङ टुल्स” प्रयोग गर्ने जानकारी पनि दिएका छन्।
आयोगले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा सबै दलहरूको सहकार्य र प्रतिबद्धताबाट आचारसंहिता इमान्दार र सफलतापूर्वक कार्यान्वयन हुने विश्वास व्यक्त गरेको छ।
साथै, आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीस्वरूप ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन्।
प्रकाशित मिति: ४ माघ २०८२, आइतबार












प्रतिक्रिया