काठमाडाैं । रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को सिमानामा पर्ने कछुअवा पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
गौर–गंगापिपरा सडकखण्डअन्तर्गत पर्ने कछुअवा पुलमा शनिबार साँझ बिआर–३० एई ५१३८ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो। दुर्घटनामा भारतको बिहार राज्य अन्तर्गत पिपराढी थाना क्षेत्रको महनपुर–६ निवासी मिन्टु पासवानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
उक्त दुर्घटनामा सोही गाउँका रमेश पासवान गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालका अनुसार दुवै जना मदिरा सेवन गरी अत्यधिक तीव्र गतिमा मोटरसाइकल चलाउँदा सन्तुलन गुमाएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
गम्भीर घाइते रमेश पासवानलाई प्रादेशिक अस्पताल गौरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाराको एसएस न्यूरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ४ माघ २०८२, आइतबार













प्रतिक्रिया