काठमाडौं । नेपाली कांग्रेसमा गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ।
सर्वोच्च प्रशासनले उक्त रिटको पेसी माघ ६ गतेका लागि तोकेको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट दर्ता गराएका हुन्। प्रारम्भमा आजै पेसी तोक्न आग्रह भए पनि सर्वोच्च प्रशासनले नियमावली अनुसार आजै मुद्दा दर्ता गरेर पेसी तोक्न सम्भव नभएको जानकारी दिएको छ।
देउवा पक्षले निर्वाचन आयोगको निर्णयले नेपाली कांग्रेसको दुईतिहाइ शक्ति कम हुन सक्ने र पार्टी चुनावमा भाग लिनबाट वञ्चित हुन सक्ने अवस्था सिर्जना हुने भन्दै रिट दर्ता गरेको हो।
शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले गगन थापा समूहलाई आधिकारिकता दिने आयोगको निर्णयविरुद्ध राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो। यसअघि गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन बोलाएर नयाँ कार्यसमिति चयन गरिएको थियो, जसबाट गगन थापा सभापतिमा चयन भएका थिए।
प्रकाशित मिति: ४ माघ २०८२, आइतबार













प्रतिक्रिया