काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हालेकी छिन्। मेयर बालेन शाहले पदबाट राजीनामा दिएसँगै उनले स्वतः कार्यवाहक प्रमुखको जिम्मेवारी प्राप्त गरेकी हुन्।
स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार मेयरले राजीनामा दिएपछि उपमेयर स्वतः कार्यवाहक प्रमुख हुने व्यवस्था छ, सोही प्रावधानअनुसार डंगोलले जिम्मेवारी ग्रहण गरेकी हुन्।
मेयर शाहले रास्वपा कार्यालय जानुअघि नै उपमेयरसमक्ष राजीनामा बुझाएका थिए। त्यसपछि उनी केहीबेरमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय घण्टीघर पुग्ने तयारीमा छन्। पार्टी कार्यालयमा अहिले कार्यकर्ता र शुभचिन्तकको उल्लेख्य उपस्थिति देखिएको छ।
दिउँसो १ बजे नै पुग्ने भनिए पनि राजीनामालगायतका प्रक्रियाका कारण बालेन केहीबेर ढिलो भएका थिए।
रास्वपामा प्रवेश गरिसकेका बालेन झापा–५ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा छन्। हाल उनी रास्वपाका वरिष्ठ नेताका रूपमा सक्रिय छन्।
प्रकाशित मिति: ४ माघ २०८२, आइतबार













प्रतिक्रिया