काठमाडौं ।  प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति, स्थायित्व र समृद्धिका लागि सबै समुदायबीच एकता अपरिहार्य भएको बताएकी छन्।

सोनाम ल्होसारको अवसरमा नेपाल तामाङ घेदुङलगायत विभिन्न संघ–संस्थाले सोमबार काठमाडौँको टुँडिखेलमा आयोजना गरेको तामाङ सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सांस्कृतिक चाडपर्व र धार्मिक विविधता नेपालको शक्ति र सम्पत्ति भएको उल्लेख गरिन्। यस्ता विविधताप्रति गर्व गर्न सके राष्ट्रिय शक्ति अझ बलियो बन्ने उनको भनाइ थियो।

advertisement

उनले व्यक्तिगत स्वार्थभन्दा बृहत्तर हितलाई प्राथमिकता दिने संस्कार नेपालको सामाजिक जीवनको अभिन्न अङ्ग भएको उल्लेख गर्दै समाजको भलाइका लागि योगदान गर्ने मूल्य र मान्यतालाई राजनीतिक व्यवहारमा पनि आत्मसात गर्नुपर्ने बताइन्। साथै, मुलुकका रैथाने ज्ञान, सीप र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने आवश्यकता औँल्याइन्।

तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व यस वर्ष पनि विविध कार्यक्रमका साथ मनाइएको हो। मञ्जुश्री पात्रोअनुसार सोमबारदेखि २८६२ औँ वर्ष सुरु भएको छ।

सोनाम ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा विभाजन गरिएको छ।

प्रकाशित मिति: ५ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com