काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता मंगलबार देशभर हुँदैछ। निर्वाचन आयोगका अनुसार देशभरका सबै १६५ निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालय स्थापना गरी आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ।
आयोगले उम्मेदवारी दर्ताका क्रममा कुनै पनि प्रकारको तडकभडक नगरी शान्त र मर्यादित रूपमा निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको छ। भीडभाड कम गर्न र प्रक्रिया सहज बनाउन प्रमुख दल तथा उम्मेदवारका लागि उम्मेदवारी दर्ताको समयसमेत निर्धारण गरिएको आयोगले जनाएको छ।
यसअघि आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिसकेको छ। कूल २७५ सदस्यीय प्रतिनिधिसभामध्ये ११० जना समानुपातिक प्रणालीबाट र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन हुने व्यवस्था छ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले निर्वाचनका लागि आवश्यक साधन र स्रोत उपलब्ध गराइसकेको छ। निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरी छनोट प्रक्रिया पनि सुरु भइसकेको छ। अधिकांश राजनीतिक दलले उम्मेदवार छनोट गरिसकेका छन् भने बाँकी दलले आज बिहानसम्म प्रक्रिया पूरा गर्ने जनाएका छन्।
नेपाली कांग्रेसले केही निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट प्रक्रिया जारी रहेको जनाएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले भने सबै निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट गरिसकेको बताएको छ। एमाले, नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलहरूले उम्मेदवारलाई आधिकारिक पत्रसमेत वितरण गरिसकेका छन्।
आयोगको कार्यसूचीअनुसार आज उम्मेदवारको मनोनयन दर्ता हुनेछ। उम्मेदवारी दर्ताका लागि नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य गरिएको छ। साथै, सम्बन्धित गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि आवश्यक हुनेछ। अन्य केही कागजातसमेत साथमा ल्याउन आयोगले आग्रह गरेको छ।
आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ। दिउँसो १ देखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने साँझ ४ देखि ७ बजेसम्म चुनाव चिह्न प्रदान गरिने कार्यसूची छ।
फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ।
विसं २०७९ मा निर्वाचित प्रतिनिधिसभा गत भदौको आन्दोलनका कारण विघटन भएपछि नयाँ निर्वाचन हुन लागेको हो।
प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार












प्रतिक्रिया