काठमाडौं । नेपाली कांग्रेसबाट प्रतिनिधिसभा निर्वाचनका लागि डडेलधुरामा नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष नैनसिंह महर उम्मेदवार बन्ने भएका छन्।

पूर्व सभापति शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेसँगै कांग्रेसले महरलाई डडेलधुराबाट टिकट दिएको हो। महर नेपाली कांग्रेसको देउवा पक्षसँग नजिक मानिन्छन्। उनी नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष तथा कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य हुन्।

advertisement

यसैबीच, शेरबहादुर देउवाले फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने औपचारिक जानकारी दिएका छन्। देउवाको निजी सचिवालयका अनुसार उनी यसपटक चुनावी प्रतिस्पर्धामा नउत्रने भएका हुन्।
‘शेरबहादुर देउवाज्यू आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराउँछु,’ देउवाका स्वकीय सचिव भानु देउवाले बताएका छन्।

२०४८ सालदेखि डडेलधुराबाट निरन्तर उम्मेदवार बन्दै आएका देउवाले सधैं जित हात पार्दै आएका थिए। पार्टी सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माले देउवालाई अब निर्वाचन नलड्न आग्रह गरेपछि उनले उम्मेदवारी नदिने निर्णय लिएको जनाइएको छ।

देउवा २०४८ देखि २०७९ सम्म लगातार डडेलधुराबाट निर्वाचित हुँदै आएका थिए। उनले २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ का निर्वाचनमा प्रत्यक्षतर्फ जित हासिल गरेका थिए। २०६४ सालमा कञ्चनपुर क्षेत्र नम्बर ४ र २०७० सालमा कैलाली क्षेत्र नम्बर ६ बाट पनि उनले निर्वाचन जितेका थिए। देउवा सातपटक लगातार निर्वाचन जित्ने एकमात्र नेता हुन् भने उनी पाँचपटक प्रधानमन्त्रीसमेत भइसकेका छन्।

यस्तै, नेपाली कांग्रेसले निवर्तमान केन्द्रीय सदस्य डा. आरजु राणालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार नबनाउने निर्णय गरेको छ। कैलाली क्षेत्र नम्बर ५ बाट डा. राणासहित डिल्लीराम पन्त र नृपबहादुर ओडको नाम सिफारिस भएको थियो।

तर पार्टी सभापति गगनकुमार थापाले सबै सिफारिस गरिएका उम्मेदवारलाई पछाडि पार्दै कैलाली क्षेत्र नम्बर ५ बाट नरनारायण शाहलाई उम्मेदवार बनाउने निर्णय गरेका छन्।

प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com