काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगन थापालाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेसँगै थापाले कांग्रेस सभापतिको रूपमा कामकाज अघि बढाउन कानुनी अवरोध हटेको छ।
कांग्रेसको विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति गठन भएको थियो, जसलाई निर्वाचन आयोगले वैधानिकता दिएको थियो।
यस निर्णयविरुद्ध कांग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र सभापति शेरबहादुर देउवाले माघ ४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिटमा निर्वाचन आयोगसँगै सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मालाई विपक्षी बनाइएको छ।
रिट निवेदनमा निर्वाचन आयोगको निर्णय खारेज गर्न माग गर्दै अहिले जारी प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्ता प्रक्रिया रोक्न अन्तरिम आदेश माग गरिएको थियो।
सर्वोच्च अदालतले भने अन्तरिम आदेश दिने वा नदिने विषयमा अन्तिम निर्णय गर्न दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।
प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार












प्रतिक्रिया