काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश निर्वाचनमय भए पनि आफू व्यक्तिगत रूपमा सहभागी हुन नसकेको बताएका छन्।
लामिछानेले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै आफ्नो अनुपस्थितिको कारण स्पष्ट पारेका छन्। उनले लेखेका छन्, ‘देश निर्वाचनमय छ। देशभर मनोनयन दर्ताको रौनक चलिरहेको छ। तर विडम्बना, म यस उत्साहमा पूर्ण रूपमा मिसिन सकिरहेको छैन। किनभने आजै पर्सा, काठमाडौं र रुपन्देहीका अदालतमा मेरो मुद्दाको सुनुवाइ चलिरहेको छ। पर्सा जिल्ला अदालतबाट म भर्खर मात्र निस्किएको छु।’
उनले आफूमाथि गरिएको अन्याय र अत्याचारको हिसाब–किताब नेपाली जनताले फागुन २१ मा मतदान गरेर दिने समेत बताएका छन्।
साथै लामिछानेले सहकारीमार्गबाट नहिँडेको मान्छेलाई समेत मुद्दा लगाइएको भन्दै न्याय प्रक्रिया असंवैधानिक भएको आरोप लगाएका छन्। उनले भने, ‘देशका सम्पूर्ण अपराधीहरू एक ठाउँमा जम्मा भएर ममाथि गरेको अत्याचारको कारण इतिहासले रेकर्ड गर्दैछ। नभएको प्रमाण देखाएर मुद्दा लगाउने यो अत्याचार हो।’
आफूलाई जिउँदो छोडेर एउटा गुण लगाइएको उल्लेख गर्दै उनले थपे, ‘म तिमीहरू सबैको गुण तिर्छु, चाँडै तिर्छु, बिना प्रतिशोध। फेरि भन्छु, म अभिमन्यु होइन।’
प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार












प्रतिक्रिया