काठमाडौं । कालिकोट जिल्लामा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै भुपेन्द्रजंग शाहीले स्वतन्त्र उमेदवारी दर्ता गराएका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस कालीकोटले भुपेन्द्रजंग शाहीलाई पहिलो प्राथमिकतामा राख्दै अम्मबहादुर शाही र सीता रावलको नामसहित सिफारिस गरी प्रदेश हुँदै केन्द्रमा पठाएको थियो। तर, केन्द्रबाट जिल्लाको सिफारिसलाई बेवास्ता गर्दै कांग्रेस कालीकोटका पूर्व सभापति हर्षबहादुर बमले टिकट लिएर आएपछि शाहीले स्वतन्त्र उमेदवारी दिने निर्णय गरेका हुन्।
शाहीले जिल्लाको निर्णयभन्दा बाहिरबाट उम्मेदवार थोपरिनु लोकतान्त्रिक प्रक्रिया र पार्टीको आन्तरिक अभ्यासविपरीत भएको भन्दै स्वतन्त्र रूपमा जनतासमक्ष जाने बताएका छन्। उनका अनुसार पार्टीभित्रको निर्णय प्रक्रिया कमजोर बन्दै जाँदा कार्यकर्ताहरू निराश बन्न पुगेका छन्।
कांग्रेसको विशेष महाधिवेशनपछि केन्द्रमा नेतृत्व परिवर्तनसँगै जिल्लास्तरका सिफारिसहरूलाई बेवास्ता गर्दै उम्मेदवार परिवर्तन गर्ने क्रम बढेको कांग्रेसका एक नेताले बताए। जिल्लाको भावना नबुझी बाहिरबाट टिकट वितरण गर्न थालिएपछि पार्टीभित्र असन्तुष्टि बढ्दै गएको ती नेताको भनाइ छ।
कालीकोटमा कांग्रेसभित्रको यो विवादले निर्वाचनलाई थप रोचक बनाउने अनुमान गरिएको छ।
प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार












प्रतिक्रिया