काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि देशभरका सबै १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेको छ। यसपटक कांग्रेसले कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगरी एक्लै निर्वाचनमा जाने निर्णय गरेको हो। अघिल्ला निर्वाचनहरूमा कांग्रेसले गठबन्धन गर्दै आएको थियो।
यद्यपि माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि भने कांग्रेसले नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग तालमेल गरेको छ। राष्ट्रिय सभाका लागि गठबन्धन गर्ने निर्णय सभापति शेरबहादुर देउवाको कार्यकालमै भएको थियो।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा गठबन्धन नगर्ने निर्णय विशेष महाधिवेशनमार्फत गगन थापा नेतृत्वमा गठन भएको नयाँ कार्यसमितिले गरेको हो। विशेष महाधिवेशनले यसअघि महासमिति बैठकले गरेको निर्णयलाई निरन्तरता दिँदै सबै १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने नीति अंगीकार गरेको थियो।
कांग्रेसका प्रवक्ता देवराज चालिसेले १६५ जना उम्मेदवारमध्ये १०६ जना नयाँ अनुहार रहेको जानकारी दिए। यो संख्या कुल उम्मेदवारको करिब दुई तिहाइ हो। उनका अनुसार यसपटक प्रत्यक्षतर्फ ११ जना महिला उम्मेदवार छन्, अघिल्लोपटक यो संख्या पाँच मात्रै थियो। युवालाई प्राथमिकता दिँदै टिकट वितरण गरिएको उनले बताए।
युवा उम्मेदवारतर्फ काठमाडौं क्षेत्र नं. ४ बाट सचिन तिमल्सेना, इलाम क्षेत्र नं. १ बाट निस्कल राई र रोल्पाबाट सुदनकुमार ओलीलाई उम्मेदवार बनाइएको छ। ‘समयको चापबीच पनि प्रत्यक्षतर्फ उम्मेदवार चयनमा समावेशीता कायम गर्ने प्रयास गरेका छौं,’ चालिसेले भने, ‘पार्टीका सबै पक्षलाई समेट्ने प्रयास भएको छ, देखिएका कमजोरीहरू क्रमशः सुधार्दै जानेछौं।’
प्रवक्ताका अनुसार टिकट वितरण आग्रह वा पूर्वाग्रहबिना गरिएको हो। क्षेत्र, जिल्ला र प्रदेश समितिबाट सिफारिस भई आएका नामलाई प्राथमिकता दिँदै संसदीय बोर्डमार्फत उम्मेदवार चयन गरिएको उनले स्पष्ट पारे। केही निर्वाचन क्षेत्रमा दुई–दुई जना उम्मेदवार देखिए पनि आधिकारिक उम्मेदवारबारे निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराइने पार्टीले जनाएको छ।
सुनसरी क्षेत्र नं. ३ मा विजयकुमार गच्छदार र बेदनारायण गच्छदारका नाममा टिकट भए पनि विजयकुमार गच्छदारले उम्मेदवारी दर्ता गराएका छन्। नवलपुर क्षेत्र नं. १ मा बालकृष्ण घिमिरे र नवलपरासी क्षेत्र नं. २ मा देवेन्द्रराज कँडेललाई कांग्रेसले उम्मेदवार बनाएको छ।
यसपटक निवर्तमान सभापति शेरबहादुर देउवा, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, निवर्तमान उपसभापति धनराज गुरुङ, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह तथा पूर्वगृहमन्त्री रमेश लेखकलगायत शीर्ष नेताहरू निर्वाचनमा नउठ्ने भएका छन्।
कांग्रेसले गुटगत आधारमा नभई जित्न सक्ने क्षमताका आधारमा उम्मेदवार छनोट गरिएको दाबी गरेको छ। यसपटक महाधिवेशन प्रतिनिधिहरूले समेत टिकट पाएका छन्।
रौतहट क्षेत्र नं. १ बाट सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झालाई उम्मेदवार बनाइएको छ। सद्भावना पार्टीलाई नेपाली कांग्रेसमा समाहित गर्ने उद्देश्यसहित झालाई उम्मेदवार बनाइएको नेताहरूले बताएका छन्।
कांग्रेसले यस निर्वाचनमा झन्डै दुई तिहाइ नयाँ उम्मेदवार मैदानमा उतारेको छ।
प्रकाशित मिति: ७ माघ २०८२, बुधबार













प्रतिक्रिया