काठमाडौँ । भारत सरकारले नेपाल सरकारलाई ६० भन्दा बढी डबल–क्याब पिकअप सवारी साधन उपहारस्वरूप प्रदान गरेको छ। यी सवारी साधनहरू भारतले नेपाललाई निर्वाचनसम्बन्धी सहयोगअन्तर्गत उपलब्ध गराएको पहिलो चरणको खेप हो।
गृह मन्त्रालयमा आयोजित समारोहमा नेपालका लागि भारतका कार्यवाहक राजदूत डा. राकेश पाण्डेले गृहमन्त्री ओमप्रकाश अर्याललाई सवारी साधनहरूको साँचो हस्तान्तरण गरेका थिए।
कार्यक्रममा गृहमन्त्री अर्यालले उपहारस्वरूप प्राप्त सवारी साधन तथा सामग्रीका लागि भारत सरकार र भारतीय जनताप्रति आभार व्यक्त गर्दै नेपाल–भारतबीचको गहिरो र मैत्रीपूर्ण सम्बन्धको प्रशंसा गरे।
नेपाल सरकारको अनुरोधमा भारत सरकारले सन् २००८ देखि निर्वाचनसम्बन्धी सहयोग गर्दै आएको छ। यस अवधिमा भारतले निर्वाचन आयोगसहित नेपालका विभिन्न मन्त्रालय र निकायका लागि उपहारस्वरूप करिब २ हजार ४ सय सवारी साधन उपलब्ध गराइसकेको छ।
आगामी निर्वाचनका लागि भारतले करिब ६५० सवारी साधन सहयोगस्वरूप प्रदान गर्ने जनाएको छ। ती सवारी साधनहरू बाँकी केही हप्ताभित्र विभिन्न चरणमा हस्तान्तरण गरिने भारतीय दूतावासले जानकारी दिएको छ।
प्रकाशित मिति: ७ माघ २०८२, बुधबार












प्रतिक्रिया