काठमाडौँ – मुलुकमा फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुने तयारीका बीच मंगलबार सबै १६५ प्रत्यक्ष निर्वाचन क्षेत्रमा उत्साहपूर्वक उम्मेदवारी दर्ता भएको छ। निर्वाचन आयोगका अनुसार ६८ वटा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसहित कुल ३,४८४ जनाले प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गरेका छन्।
कुल उम्मेदवारमध्ये २,२९७ जना राजनीतिक दलका र १,१८७ जना स्वतन्त्र उम्मेदवार छन्। महिला उम्मेदवार ३९५ जना मात्रै छन्, जसमा २३५ जना दलका र १६० जना स्वतन्त्र उम्मेदवार छन्। पुरुष उम्मेदवार ३,०८८ रहेका छन् भने अन्य दुई जना पनि छन्।
उमेर समूह अनुसार ३६–५० वर्ष उमेरका उम्मेदवार सबैभन्दा बढी छन् (१,६१० जना), २५–३५ वर्ष समूहमा ५८३, ५१–६५ वर्षमा १,०९० र ६५ वर्षमाथिका २०१ उम्मेदवार छन्।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ६ माघमा सम्पन्न मनोनयन प्रक्रियामा सबै क्षेत्रबाट उत्साहजनक सहभागिता देखिएको थियो। प्रत्यक्ष निर्वाचनसँगै समानुपातिक प्रणालीमार्फत ११० सदस्य निर्वाचित हुनेछन्।
नेपाली कांग्रेस, एमाले, नेकपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबै निर्वाचन क्षेत्रमा उम्मेदवार दर्ता गरिसकेका छन्। कांग्रेसले १६५, नेकपा र रास्वपाले १६४–१६४ क्षेत्रबाट उम्मेदवारी दिएका छन्। रास्वपाले मनाङ र नेकपाले बागलुङ १ मा उम्मेदवारी दिएका छैनन्।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपाका झलनाथ खनालले उम्मेदवारी दिएका छैनन्। तर, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली (झापा ५), पुष्पकमल दाहाल (रुकुम पूर्व), माधव नेपाल (रौतहट १), र बाबुराम भट्टराई (गोरखा २) उम्मेदवारीमा छन्।
साथै, कांग्रेस सभापति गगनकुमार थापाले काठमाडौं–४ छाडेर सर्लाही ४ बाट उम्मेदवारी दिएका छन्। यस क्षेत्रमा पूर्वनेता अमरेश सिंह (रास्वपा) प्रतिस्पर्धा गर्दैछन्। कांग्रेस महामन्त्री प्रदीप पौडेल काठमाडौं ५, शेखर कोइराला मोरङ ६ र गुरुराज घिमिरे मोरङ ४ बाट उम्मेदवारी दिएका छन्।
सबैभन्दा रोचक प्रतिस्पर्धा झापा ५ मा हुने देखिन्छ, जहाँ एमाले अध्यक्ष ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह एक अर्कासँग भिड्ने छन्। त्यहाँ नेकपाबाट रन्जित तामाङ पनि प्रतिस्पर्धामा छन्।
एमाले उपाध्यक्षहरू विष्णु पौडेल (रुपन्देही २), गोकर्ण विष्ट (गुल्मी २), पृथ्वीसुब्बा गुरुङ (लमजुङ), महासचिव शंकर पोखरेल (दाङ–२), उपमहासचिव लेखराज भट्ट (कैलाली ४), र रघुवीर महासेठ (धनुषा १) बाट उम्मेदवारी दिएका छन्।
नेकपाका पुष्पकमल दाहाल रुकुम पूर्व, माधवकुमार नेपाल रौतहट–१, नारायणकाजी श्रेष्ठ सर्लाही ३, भीम रावल अछाम १, महिन्द्रराय यादव सर्लाही २, वर्षमान पुन रोल्पाबाट उम्मेदवारी दिएका छन्।
रास्वपाबाट सभापति रवि लामिछाने चितवन–२, उपसभापति डिपी अर्याल काठमाडौं ९, महामन्त्री कविन्द्र बुर्लाकोटी गोरखा २ र उपसभापति स्वर्णिम वाग्ले तनहुँ १ बाट उम्मेदवारी दिएका छन्।
जसपा नेपालका उपेन्द्र यादव सप्तरी ३, जनमत पार्टीका सिके राउत सप्तरी २, जसपा नेता शरदसिंह भण्डारी महोत्तरी २ र राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतो सर्लाही २ बाट उम्मेदवारी दिएका छन्।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन झापा ३ र उपाध्यक्ष रविन्द्र मिश्र काठमाडौं १, उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं ३ बाट उम्मेदवारीमा छन्। निवर्तमान सञ्चारमन्त्री जगदीश खरेल रास्वपाबाट ललितपुर २ मा छन्।
पूर्व आइजिपी सर्वेन्द्र खनाल बारा ४, प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्मा रुकुम पश्चिम, श्रम संस्कृति पार्टीका हर्क साम्पाङ सुनसरी–१ बाट उम्मेदवारी दिएका छन्।
रुकुम पूर्वमा कांग्रेसकी कुसुम थापा मगर, एमालेका लिलामणि गौतम र रास्वपाका लखन थापा; रोल्पामा नेकपा (विप्लव) का चुडामणि वली, नेपाली कांग्रेसका डा. सुदनकुमार वली, एमालेका गोकुल घर्ती, राष्ट्रिय स्वतन्त्र पार्टीका बालराम थापा र नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुन उम्मेदवार छन्।
प्युठानमा एमालेका सूर्य थापा, नेपाली कम्युनिस्ट पार्टीका कृष्णध्वज खड्का, नेपाली कांग्रेसका डा. गोविन्द पोख्रेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सुशान्त बैद्धिकले उम्मेदवारी दिएका छन्।
प्रकाशित मिति: ७ माघ २०८२, बुधबार













प्रतिक्रिया