काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसमेत जोडिएको पतञ्जलि भ्रष्टाचार प्रकरणको मुद्दाको पेसी तोकिएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले यसअघि अनुसन्धानसम्बन्धी फाइल झिकाउन आदेश दिएको थियो। पहिलो आदेशअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फाइल नपठाएपछि अदालतले पुनः आदेश जारी गरेको थियो।

advertisement

बुधबार अख्तियारबाट सम्बन्धित फाइलहरू अदालतमा प्राप्त भएपछि उक्त मुद्दाको पेसी माघ १४ गतेका लागि तोकिएको विशेष अदालतका सूचना अधिकारी यज्ञ रेग्मीले जानकारी दिए। उनका अनुसार यसअघि अख्तियारले मुद्दा नचल्ने निर्णय गर्दै फाइल तामेलीमा राखेको थियो, सोही निर्णयको सुनुवाइका लागि पेसी तोकिएको हो।

गत जेठ २२ गते पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा अख्तियारले माधव नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अख्तियारले नेपालसहितका प्रतिवादीविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरेको छ।

अख्तियारका अनुसार नेपाल प्रधानमन्त्री हुँदा २०६६ फागुन ६ गते बसेको मन्त्रिपरिषद् बैठकबाट पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा व्यक्तिलाई लाभ पुग्ने गरी हस्तान्तरणको स्वीकृति दिइएको थियो। सोही निर्णयका आधारमा ३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा हिनामिना भएको ठहर अख्तियारले गरेको छ।

प्रकाशित मिति: ७ माघ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com