काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले घरदैलो अभियान सुरु गरेका छन्। मन्त्री पदबाट एक्कासि राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका पुनले बुधबार बिहानदेखि घरदैलो अभियान थालेका हुन्। अभियानको पहिलो दिन उनले धवलागिरी गाउँपालिकालगायत विभिन्न स्थानमा मतदातासँग भेटघाट गरे।

घरदैलो अभियानको सुरुआती चरणमा पुनले मत माग्नुभन्दा पनि आफू किन निर्वाचनमा उम्मेदवार बनेँ भन्ने विषयमा मतदातालाई जानकारी गराएका छन्। मन्त्रीका रूपमा रहँदा शिक्षा क्षेत्र सुधारका लागि अध्यादेश ल्याउने प्रयास गरे पनि त्यो सफल हुन नसकेपछि बाध्य भएर चुनाव लड्ने निर्णयमा पुगेको उनले बताए।

advertisement

उनका अनुसार मन्त्री बनेपछि देशका विद्यालय र विश्वविद्यालयहरूमा देखिएका समस्या समाधान गर्न अध्यादेश र नियमावली ल्याउन खोजिएको थियो। तर विभिन्न तहबाट असहयोग भएपछि अध्यादेश राष्ट्रपतिसम्म पुर्‍याउन नसकिएको पुनको भनाइ छ।

निर्वाचन आचारसंहिता लागू हुने दिनसम्म पनि प्रयास जारी राखे पनि अध्यादेश अघि बढ्न नसकेपछि ५ पुसमा राजीनामा दिएको उनले जानकारी दिए। “४ गतेसम्म पनि अध्यादेश ल्याउन सकिन्छ कि भनेर कोसिस गरेँ, तर सम्भव भएन। त्यसपछि रातारात राजीनामा दिएर चुनावमा उठ्ने निर्णय गरियो,” पुनले भने।

आफ्नो स्वभावबारे उल्लेख गर्दै उनले भने, “मान्छेलाई कहिलेकाहीँ इखले पनि काम गराउँछ। प्रयास गर्दा पनि नहुँदा रोएर वा टाउको समातेर बस्न सकिन्थ्यो, तर मेरो बानी त्यो होइन। एउटा प्रयासले भएन भने अर्को प्रयास गर्छु।”

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्षसमेत रहेका पुनले शिक्षा क्षेत्र सुधारका लागि प्रभावकारी रूपमा काम गर्न नेता अर्थात् सांसद बन्न चाहेको बताए। आफूलाई ‘मूर्ख’ भन्न पनि पछि नपर्ने पुनले लक्ष्यबाट नहट्ने अडान व्यक्त गरे।

यद्यपि, उनले मतदातालाई जबर्जस्ती भोट माग्ने नभएको स्पष्ट पारे। “आफ्नो खुसीले भोट दिनुहोस्। भोट दिनैपर्छ भनेर माग्ने कुरा मेरो मुखबाट आउँदैन,” उनले भने।

प्रकाशित मिति: ८ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com