काठमाडौ । लमजुङमा आगामी निर्वाचनमा सिंहदरबार पुग्ने लक्ष्यका साथ एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङको प्रचार अभियान सुरु भएको छ। मंगलबार मनोनयन दर्ता गरेपछि बुधबारबाट उनी मतदाता भेटघाटमा जुटेका छन्। बुधबार बिहान घलेगाउँमा भएको कार्यक्रममा नेता तथा कार्यकर्ताहरूले उनलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरे।
एमालेबाट समानुपातिक सूचीमा रहेका प्रेम घलेले गुरुङलाई ‘भावी प्रधानमन्त्री’ भन्दै आगामी निर्वाचनमा विजयी गराउन आग्रह गरे। उनले भने, “फागुन २१ गतेको चुनावमा पृथ्वीसुब्बा गुरुङलाई जिताएर यसपटक सिंहदरबारको प्रधानमन्त्री बनाउने हो। क्व्होलासोथारको प्रधानमन्त्री बनाउने लक्ष्यका साथ सबैजना उत्साहपूर्वक आफ्नो वडा र घर–घरमा लाग्न म अनुरोध गर्दछु।”
घलेगाउँमै पञ्चकन्यालाई टीका लगाएर गुरुङले चुनावी प्रचार सुरु गरेका छन्। गुरुङले भने कि उनी पुराना अधुरा योजनाहरू पूरा गर्न मैदानमा आएको हुन्। “मैले सुरु गरेका विकासका बहुआयामिक योजनाहरू अलपत्र छन्,” उनले भने, “धेरै योजना टुहुरा भए, केहीले पूर्णता पाएनन्, र कतिपय गर्भमै रोकिए। ती अधुरा सपना पूरा गर्न म फेरि तपाईंहरूको माझमा आएको छु।”
गुरुङले आफ्नो कार्यकालमा सुरु गरिएका बेँसीसहर–मनाङ सडक, मध्यपहाडी लोकमार्गका विभिन्न खण्ड र ग्रामीण सडकहरूको सुस्त प्रगतिको चिन्ता व्यक्त गरे। उनले विशेषगरी ठेकेदारहरूको ढिलासुस्ती र कोभिड–१९ का कारण कतिपय गौरवका आयोजना समयमै सम्पन्न नभएको बताए।
स्थानीयसँगको सम्बोधनमा गुरुङले घलेगाउँलाई विश्व मानचित्रमा चिनाउने प्रयास गरेको बताए। देशको वर्तमान आर्थिक अवस्था हेर्दा नयाँ योजनाभन्दा पुराना र ३० प्रतिशतभन्दा बढी लगानी भइसकेका योजनाहरूलाई प्राथमिकताका साथ सम्पन्न गर्नुपर्ने उनले बताए। “नयाँ योजना हालेर अलपत्र बनाउनेभन्दा पुराना र अधुरा कामलाई एक–दुई वर्षभित्र सक्ने गरी हामीले योजना बनाएका छौँ,” गुरुङले भने।
गुरुङ २०७४ सालमा गण्डकी प्रदेशको मुख्यमन्त्री बनेका थिए भने २०७९ को निर्वाचनपछि सञ्चारमन्त्री बने। नेकपा एमालेको भर्खरै सम्पन्न महाधिवेशनबाट उनी उपाध्यक्षमा सर्वाधिक मत ल्याएर विजयी भएका छन्। गण्डकी प्रदेशमा सबैभन्दा धेरै संसदीय निर्वाचन लडेका नेता गुरुङ २०४३ सालदेखि निरन्तर चुनावमा भाग लिँदै आएका छन्।
प्रकाशित मिति: ८ माघ २०८२, बिहिबार













प्रतिक्रिया