काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापाका सुकुम्बासी समुदायमा असुरक्षाको भावना बढ्न थालेको बताएका छन्।
बुधबार राष्ट्रिय युवा संघ नेपाल, क्षेत्रीय समन्वय समिति क्षेत्र नम्बर ५ झापाको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले केही स्थानीय सुकुम्बासीहरू डोजर लगाएर बस्ती हटाइने हो कि भन्ने डरमा रहेको गुनासो आएको बताए।
‘सुकुम्बासी साथीहरू आफैँले आएर भने— सुकुम्बासी भत्काउने रे, डोजर चलाउने रे, को–को मानिस आएछन् भनेर डर लागिरहेको छ,’ ओलीले भने।
उनले २०६४ सालको निर्वाचन अनुभव स्मरण गर्दै नयाँ भन्दैमा उम्मेदवारलाई मत दिँदा भोट खेर जाने कुरा त्यसबेलै प्रमाणित भइसकेको जिकिर गरे। ‘२०६४ यता न कुनै ठोस विकास भयो, न जनतासँग सम्पर्क रह्यो, न एउटा सानो काम पनि अघि बढ्यो,’ ओलीले भने, ‘नयाँको स्वाद त यस्तो तीतो र अमिलो भयो कि जिब्रो पखालेर पनि जाँदैन।’
त्यसैले ‘नयाँ’ भन्ने शब्दकै आधारमा मतदान गर्नु उपयुक्त नहुने उनको भनाइ थियो। बैंकले पनि धितो–जमानी बिना नोट नछाप्ने उदाहरण दिँदै उनले मत हाल्दा पनि भरोसायोग्य र प्रमाणित व्यक्तिलाई मात्र भोट दिनुपर्ने बताए। ‘मान्छेलाई भोट हाल्दा उसको पृष्ठभूमि हेर्नु पर्दैन ? घर देख्नुभएको छ ? के काम गरेको छ ?’ भन्दै उनले प्रश्न गरे।
अध्यक्ष ओलीले बालेन्द्र साहले झापाका लागि कुनै ठोस काम नगरेको दाबी गर्दै राष्ट्रिय स्तरको स्पष्ट भिजनसमेत नदेखिएको टिप्पणी गरे। आफूले साहको घर अगाडिको सडक पक्की बनाएको, पुल निर्माण गरिदिएको तथा महोत्तरीको मटियानीबाट जनकपुर जाने सडकमा पनि पुल निर्माण गरिदिएको उल्लेख गर्दै ओलीले एमालेले काम गरेर देखाउने पार्टी भएको दाबी गरे।
‘हामी त गर्छौं, देखिने काम गर्छौं। तर काम नगर्ने, न केही देखाउनेले के आधारमा मत माग्छन् ?’ भन्दै उनले मतदातालाई सोचविचार गरेर निर्णय गर्न आग्रह गरे।
प्रकाशित मिति: ८ माघ २०८२, बिहिबार












प्रतिक्रिया