काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति भोलि पार्टीको केन्द्रीय कार्यालय सानेपा जाने भएको छ। पुस ३० गते सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएका थिए।

थापाको नेतृत्वमा गठन भएको नयाँ कार्यसमिति हालसम्म केन्द्रीय कार्यालय सानेपा नगई पार्टी प्यालेस तथा होटलहरूमा दुई पटक केन्द्रीय कार्यसमिति र संसदीय बोर्ड बैठक बसेको थियो। तर अब पहिलो पटक औपचारिक रूपमा केन्द्रीय कार्यालयमै बैठक बस्ने तयारी भएको हो।

advertisement

पार्टी प्रवक्ता देवराज चालिसेले सभापतिसहित कार्यसमिति सदस्यहरू भोलि सानेपा जाने जानकारी दिए।
‘सभापतिसहित हामी भोलि केन्द्रीय कार्यालय सानेपा जान्छौं। त्यहीँ केन्द्रीय समिति बैठक पनि बस्छ,’ उनले सेतोपाटीसँग भने।

उनका अनुसार अधिकांश केन्द्रीय नेताहरू प्रतिनिधिसभा निर्वाचनका लागि आ–आफ्नो निर्वाचन क्षेत्रमा गइसकेकाले काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरूबीच मात्र बैठक बस्नेछ। केन्द्रीय समिति बैठक भोलि दिउँसो बस्ने तय भएको उनले बताए।

निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको असहमतिबीच सम्पन्न विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको थियो। सो कार्यसमितिलाई निर्वाचन आयोगले औपचारिक मान्यता दिइसकेको छ। यद्यपि, उक्त निर्णयविरुद्ध निवर्तमान सभापति देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्ष सर्वोच्च अदालत पुगेका थिए।

सर्वोच्च अदालतले यस विषयमा कुनै अन्तरिम आदेश नदिएपछि निर्वाचन आयोगको निर्णय यथावत् रहेको छ।

यसअघि देउवा पक्ष निकट तरुण दलका नेता तथा कार्यकर्ताहरू केही दिन केन्द्रीय कार्यालय सानेपामै बसेका थिए। तर हाल उनीहरूले कार्यालय छाडिसकेका छन्। तरुण दलका अध्यक्ष विद्वान गुरुङले विज्ञप्ति जारी गर्दै पार्टीका नेता–कार्यकर्तालाई चुनावमा केन्द्रित हुन आग्रह गरेका छन्। अध्यक्ष गुरुङसहित उनीनिकट कार्यकर्ताहरू केही दिन सानेपामा बसेका थिए।

उल्लेखनीय छ, भदौ २४ गते भएको ‘जेनजी आन्दोलन’ का क्रममा कांग्रेस केन्द्रीय कार्यालयमा आगजनी भएको थियो। आगजनीबाट क्षति पुगेको कार्यालयको मर्मतसम्भार कार्य हाल पनि जारी छ।

प्रकाशित मिति: ८ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com