काठमाडौं । पहिचानवादी नेता डकेन्द्रसिंह थेगिमले उज्यालो नेपाल पार्टी छाडेको घोषणा गरेका छन्। थेगिमसहित केन्द्रीय सदस्य ज्ञानबहादुर गुरूङ र प्रस्तावित केन्द्रीय सदस्य अमर ईजम (दाह्री)ले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी छोडेको जानकारी दिएका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर हुनु, विधि–प्रक्रियाको अस्पष्टता र पहिचानसम्बन्धी एजेन्डामा स्पष्ट र लिखित धारणा नआउनुका कारण हाम्रो वैचारिक प्रतिबद्धता र आदर्शबाट विचलन भएको अनुभूति गर्‍यौं। त्यसैले हामी स्वतन्त्र रूपमा अगाडि बढ्ने निर्णय लिएका छौं।’ विज्ञप्तिमा स्पष्ट पारिएको छ कि थेगिम आजकै मितिबाट उज्यालो नेपाल पार्टीको साधारण सदस्य पनि नरहने भएका छन्।

advertisement

थेगिमसहितका नेताहरूले आगामी कार्यक्रमको रूपरेखा पनि सार्वजनिक गरेका छन्। उनीहरूले एकतापूर्वको संयुक्त पहिचानवादी मोर्चालाई पुनः विस्तार गर्दै बृहत् पहिचानवादी आन्दोलनका लागि सशक्त संरचना निर्माण गर्ने लक्ष्य राखेका छन्।

त्यसैगरी, फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि दलहरूको घोषणा पत्रमा अनिवार्य रूपमा पहिचानसहितको संघीयता, धर्मनिरपेक्षता, लोकतान्त्रिक गणतन्त्र र पूर्ण समानुपातिक प्रणाली प्रतिवद्ध गराउन दबाब सिर्जना गर्ने नीति तय गरिएको छ।

उनीहरूले ‘नो कोशी, नो केबलकार’ अभियान अन्तर्गत मुक्कुमलुङ, खुवालुङ, बोझेनीलगायत धार्मिक–सांस्कृतिक स्थलमा भइरहेको अतिक्रमणविरुद्ध एकताबद्ध प्रतिरोध गर्ने पनि बताएका छन्। यसका लागि दलको घोषणापत्र र उम्मेदवारको प्रतिबद्धतापत्रमा आवश्यक एजेन्डा समावेश गराउने पहल गरिनेछ।

थेगिमसहितका नेताहरूले यस्ता एजेन्डा नबोक्ने दल र उम्मेदवारविरुद्ध ‘नो एजेन्डा, नो भोट’ अभियान सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरेका छन्। अभियान अन्तर्गत पर्चा वितरण, घरदैलो, जनसभा र कोणसभा गरी जनसहभागिता सुनिश्चित गरिने जनाइएको छ।

उज्यालो नेपाल पार्टी र रास्वपा बीचको एकता भाँडिएपछि पनि थेगिम पार्टीभित्र आबद्ध थिए। अब उनीहरू आफ्नो स्वतंत्र पहिचानवादी मार्गमा अघि बढ्ने तयारीमा छन्।

प्रकाशित मिति: ८ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com