काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू शुक्रबार पार्टी केन्द्रीय कार्यालय, सानेपा पुग्ने भएका छन्।
पुस ३० गते सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा कांग्रेसको नयाँ कार्यसमिति चयन भएको हो। सभापति निर्वाचित भए पनि पहिलो र दोस्रो कार्यसमितिको बैठक होटलमै बसेको थियो। फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार छनोटका लागि गठित संसदीय बोर्डको बैठक पनि होटलमै सम्पन्न भएको थियो।
पार्टी स्रोतका अनुसार भोलिको बैठकले सभापति गगनकुमार थापालाई पार्टीको प्रधानमन्त्री उम्मेदवारको रूपमा घोषणा गर्ने अपेक्षा गरिएको छ। अन्य दलहरूले पनि आफ्नो प्रधानमन्त्री उम्मेदवार घोषणा गरिसकेका छन्। नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई र राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र साहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिसकेको छ।
कांग्रेसमा गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरूले विशेष महाधिवेशन आह्वान गरेपछि निवर्तमान सभापति शेरबहादुर देउवा र उनका समर्थकले असहमति जनाएका थिए। देउवा समूहले महाधिवेशनलाई अस्वीकार गर्दै विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आधिकारिकता नदिन सर्वोच्च अदालतमा रिट समेत दायर गरेको थियो। तर सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकृति जनाएको थियो।
विशेष महाधिवेशनपछि देउवा समूहका केही केन्द्रीय सदस्य र तरुण दलका नेताहरूले केन्द्रीय कार्यालयमा प्रवेश रोक्ने प्रयास गरेका थिए। हाल उनीहरूले कार्यालय छोडेका छन् र नयाँ कार्यसमितिका सदस्यहरूले अब केन्द्रीय कार्यालयमा बैठक बसाउने तयारी गरेका छन्।
प्रकाशित मिति: ८ माघ २०८२, बिहिबार












प्रतिक्रिया