काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी फुटबाट जोगाउन आफूले मध्यमार्गी र सौम्य नीति अपनाएको बताएका छन्।

बिहीबार मोरङ क्षेत्र नम्बर ६, सुन्दरहरैंचामा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रममा नेता कोइरालाले पार्टीको स्थायित्व सुनिश्चित गर्न आफूले विवाद र झगडाको बाटो नछानिएको स्पष्ट पारे।

advertisement

प्रतिनिधि सभा निर्वाचनका लागि पार्टी अघि बढिसकेको भन्दै उनले निर्वाचनले मुलुकलाई प्रष्ट निकास दिने विश्वास व्यक्त गरे। विशेष महाधिवेशनमा सहभागी नभएको विषय प्रस्ट पार्दै कोइरालाले भने, ‘म विशेष महाधिवेशनमा गएको भए पार्टी विभाजन हुन सक्थ्यो। पार्टी फुट्न नदिन मैले बिचको बाटो रोजेको हुँ।’

नेता कोइरालाले महाधिवेशन पार्टीको प्रक्रिया भएकाले यसलाई विवादको विषय बनाउनु आवश्यक नभएको उल्लेख गर्दै भने, ‘आज डा. डिला संग्रौला जी र म एकै स्थानमा छौँ र निर्वाचन दौडमा सँगै हिडिरहेकाछौँ। महाधिवेशनको विषय सकियो, त्यसतर्फ नजाऔँ।’

उनले जेनजी आन्दोलनअघिसम्म सांसदको भूमिकामा रहँदा नीति निर्माण र जनताको जीवन सहज बनाउन केन्द्रित रहेकाले संसद् भित्र र बाहिर भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा बोलिरहेको बताए। ‘सांसद रहँदा संसद् भित्र र बाहिर दुवै ठाउँमा लडिरहेको छु,’ कोइरालाले भने।

नेता कोइरालाले आफ्नो निर्वाचन क्षेत्रका जनताको शिर राष्ट्रिय राजनीतिमा झुक्न नदिएको प्रस्टाउँदै, पार्टी फुटाएर अलग हिँड्नुभन्दा पार्टीलाई जोडेर समाधान निकाल्नु नै वर्तमानमा उत्तम विकल्प भएको बताए।

उनीहरूले पार्टीलाई नफुटाई निर्वाचनमा एक ढिक्का भएर अघि बढाउने दायित्व भएको उल्लेख गर्दै, त्यस अनुरूप मध्यमार्गी नीति अपनाएको बताए। कार्यकर्ता भेटघाटको क्रममा उनले पार्टीमा विगतका कमजोरी स्वीकार गर्दै अब निर्वाचनमा केन्द्रित हुन जोड दिए।

कोइरालाले सबै कार्यकर्तालाई यस पटक कांग्रेसलाई जिताउन एक ढिक्का भएर भूमिका खेल्न पनि आग्रह गरेका छन्।

प्रकाशित मिति: ८ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com