कञ्चनपुर । जिल्लाका ६६ वटा मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ । सुरक्षाका दृष्टिकोणले मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरी सोहीअनुरुप सुरक्षाको व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रहरीका अनुसार १३२ मतदानस्थलमध्ये ६६ वटालाई अति संवेदनशील, ४० संवेदनशील र २६ मतदानस्थललाई सामान्यको सूचीमा राखिएको छ । “हामीले एकीकृत सुरक्षा योजना बनाएर निर्वाचन सुरक्षाको तयारी गरेका छौँ । यसमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सुरक्षामा खटिनेछन्”, जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक खडकबहादुर खत्रीले भने , “सुरक्षाका दृष्टिकोणले महत्वपूर्ण मानिएका मतदानस्थल संवेदनशील क्षेत्रका रूपमा रहेका छन् ।”
कञ्चनपुर भारतसँग सीमा जोडिएको जिल्ला भएकाले पनि अतिसंवेदनशील मतदनास्थलको सङ्ख्या बढी रहेको उहाँले बताए । मतदानस्थलको सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउनका लागि तीन तहमा सुरक्षा घेराको निर्माण गरिएको उहाँले जानकारी दिए । उहाँका अनुसार मतदानस्थलको भित्री घेरामा नेपाल प्रहरी, म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई खटाइने छ । तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा क्षेत्र नं १ मा ३४ वटा अतिसंवेदनशील, क्षेत्र नं २ मा १७ वटा अतिसंवेदनशील र क्षेत्र नं ३ मा १५ वटा अतिसंवेदनशील मतदानस्थल रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: ८ माघ २०८२, बिहिबार












प्रतिक्रिया