एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार स्विट्जरल्यान्डको डाभोसमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्ने भएका छन्। विश्व आर्थिक मञ्च (डब्ल्यूईएफ)को अवसरमा हुने उक्त भेटलाई युक्रेन–रूस युद्ध अन्त्यतर्फको सम्भावित पहलका रूपमा हेरिएको छ।
सीएनएनका अनुसार ट्रम्पले डाभोसमा डब्ल्यूईएफलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति जेलेन्स्की त्यतिबेला युक्रेनको राजधानी कीभमा थिए। ट्रम्पले भनेका छन्, ‘म राष्ट्रपति जेलेन्स्कीसँग कुराकानी गरिरहेको छु, र मलाई लाग्छ उहाँ सम्झौतामा जान इच्छुक हुनुहुन्छ।’
यसअघि राष्ट्रपति जेलेन्स्कीले मंगलबार युक्रेनमा रूसको युद्ध अन्त्यका लागि आफ्नो देशको समृद्धि र सुरक्षा सुनिश्चित हुने ठोस प्याकेजमा सहमति बनेको अवस्थामा मात्र डाभोसमा ट्रम्पसँग भेट गर्ने बताएका थिए।
ट्रम्प र जेलेन्स्कीबीचको भेट त्यही समयमा हुन लागेको हो, जब ट्रम्पका विदेश दूत स्टीव विटकोफ र उनका ज्वाइँ जारेड कुशनर रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्न मस्को जाने तयारीमा छन्। यसले युक्रेन युद्ध समाधानका लागि कूटनीतिक प्रयासहरू तीव्र बन्दै गएको संकेत गरेको छ।
प्रकाशित मिति: ८ माघ २०८२, बिहिबार













प्रतिक्रिया