झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन झापामा सुरक्षा निकायले मतदानस्थललाई तीन तहमा वर्गीकरण गरेको छ।
प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालका अनुसार जिल्लाका २८५ मतदानस्थलमध्ये ९५ वटा अतिसंवेदनशील, १४७ वटा संवेदनशील र ४३ वटा सामान्य श्रेणीमा राखिएका छन्। जिल्लाभर कुल ८१५ मतदान केन्द्र रहेका छन्।
निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त परिचालन गरिने प्रजिअ गेलालले जानकारी दिए। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै क्षेत्र नम्बर ५ मा विगतको तुलनामा बढी सुरक्षाकर्मी आवश्यक पर्ने देखिएकाले प्रदेश सरकारसँग थप सुरक्षाकर्मी माग गरिएको पनि उनले बताए।
पाँच निर्वाचन क्षेत्र रहेको झापाबाट निर्वाचनपछि पाँच जना प्रतिनिधिसभा सदस्य निर्वाचित हुनेछन्। यसका लागि जिल्लामा सात लाख १३ हजार ५३७ जना मतदाताले मतदान गर्ने तयारी गरिएको छ।
प्रकाशित मिति: ८ माघ २०८२, बिहिबार













प्रतिक्रिया