काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृत ऋषिराम केसीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार नेपाल सरकारको नाममा आउनुपर्ने साविक बेतहनी गाविस–४ क का कित्ता नम्बर २, ११ लगायतका जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा सिफारिस र निर्णय गरिएको आरोपमा मुद्दा चलाइएको हो।
मुद्दामा तत्कालीन मालपोत अधिकृत ऋषिराम केसी, मालपोत अधिकृत अशोककुमार भट्टराई, नायब सुब्बा ताराप्रसाद खनाल, नायब सुब्बा कर्णबहादुर पुन, तत्कालीन गाविस सचिव मानबहादुर बोगटी, डडुवा गाउँपालिका–२ निवासी लिलावती कैराती र वीरेन्द्रकुमार कुर्मी प्रतिवादी रहेका छन्।
अख्तियारले तत्कालीन प्रमुख मालपोत अधिकृत ऋषिराम केसी, नायब सुब्बा ताराप्रसाद खनाल र तत्कालीन गाविस सचिव मानबहादुर बोगटीविरुद्ध २२ लाख ४२ हजार ७२० रुपैयाँ बिगो मागदाबी गरेको छ।
यस्तै, मालपोत अधिकृत अशोककुमार भट्टराई र नायब सुब्बा कर्णबहादुर पुनसँग २० लाख ८७ हजार २५९ रुपैयाँ, लिलावती कैरातीसँग २४ लाख ६७ हजार ७२० रुपैयाँ तथा वीरेन्द्रकुमार कुर्मीबाट १८ लाख ६२ हजार २५९ रुपैयाँ बिगो असुलउपरको माग गर्दै मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ।
प्रकाशित मिति: ८ माघ २०८२, बिहिबार













प्रतिक्रिया