काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपा नेपाल) का संरक्षक रेशम चौधरीको प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता गरिएको उम्मेदवारी खारेज गरिएको छ।
कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट नाउपा नेपाल (एकल चुनाव चिन्ह) का तर्फबाट चौधरीको उम्मेदवारी दर्ता भएको थियो। तर निर्वाचन अधिकृतले प्रचलित कानूनअनुसार उनको मनोनयनपत्र कायम रहन नसक्ने ठहर गर्दै खारेज गर्ने निर्णय गरेका हुन्।
निर्वाचन अधिकृतको निर्णयमा भनिएको छ, “नागरिक उन्मुक्ति पार्टी नेपाल (एकल चुनाव चिन्ह) का उम्मेदवार रेशमलाल चौधरीको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम प्रतिनिधिसभा सदस्य पदका लागि हुने निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र प्रचलित कानूनअनुसार कायम रहन सक्ने अवस्था नदेखिएकाले खारेज गरिएको छ।”
टीकापुर घटनासम्बन्धी मुद्दामा जन्मकैदको सजाय पाएका चौधरीले सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाएका थिए। तर प्रतिनिधिसभा निर्वाचन ऐनअनुसार जन्मकैद सजाय पाएका व्यक्ति प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने प्रावधान रहेको छ।
यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि चौधरी बर्दिया निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए। त्यतिबेला पनि उनको उम्मेदवारी खारेज भएको थियो र उनी कारागारमै थिए।
त्यसपछि उनका बुवा लालवीर चौधरी बर्दिया क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवार बनेका थिए। पछि उनी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका थिए। हाल लालवीर चौधरी नाउपा नेपालमै सक्रिय छन्।
प्रकाशित मिति: ८ माघ २०८२, बिहिबार













प्रतिक्रिया