काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशमलाल चौधरीले प्रतिनिधिसभा निर्वाचनका लागि दिएको आफ्नो उम्मेदवारी खारेज भएपछि तीव्र असन्तोष व्यक्त गरेका छन्।
बिहीबार निर्वाचन अधिकृतको कार्यालयले कैलाली निर्वाचन क्षेत्र नं–१ बाट दिएको उनको उम्मेदवारी रद्द गरेपछि चौधरीले सामाजिक सञ्जालमार्फत आफूलाई राजनीतिक सिकार बनाइएको आरोप लगाएका हुन्। उनले राज्यले विभेद, दमन र उपेक्षित समुदायलाई पीडा दिन विभिन्न हतियार प्रयोग गरिरहेको टिप्पणी गरेका छन्।
चौधरीले आफ्नो अवस्थालाई दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलाको संघर्षसँग तुलना गर्दै पहिचानको लडाइँ लामो हुन सक्ने संकेतसमेत गरेका छन्। फेसबुकमा लेख्दै उनले भनेका छन्,
‘राजनीतिक सिकार बनाउनुको पनि हद हुन्छ। विभेद, दमन र उपेक्षित समुदायलाई उत्पीडनमा पार्दा प्रयोग गरिने हतियार पनि कस्ता कस्ता? मण्डेलाले लामो संघर्षपछि प्राप्त गरेको उपलब्धि सिङ्गो अफ्रिका हो। पहिचानको लडाइँको बाटो कतै त्यही त होइन भन्ने डर छ।’
उम्मेदवारी खारेजीको विरोध स्वरूप चौधरीले पार्टीको चुनाव चिह्न जाँतो (चकिया) मा मतदान गर्न समर्थकलाई अपिल गरेका छन्।
उनले लेखेका छन्, ‘राजनीतिक विभेदका विरुद्ध सबैको साथ भनेकै जाँतोमा मतदान हो। मेरो उम्मेदवारी खारेजीको विरोधमा देशभर जाँतोमा मतदान गरेर नाउपा नेपाललाई साथ दिनुहोला।’
यसअघि निर्वाचन अधिकृतको कार्यालयले टीकापुर घटनासम्बन्धी मुद्दामा अदालतबाट भएको जन्मकैदको फैसला र प्रचलित कानुनी व्यवस्थालाई आधार मान्दै चौधरीको उम्मेदवारी खारेज गरेको थियो।

advertisement

प्रकाशित मिति: ८ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com