गुल्मी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट गुल्मी क्षेत्र नम्बर–१ का उम्मेदवार बनेका सागर ढकाल आफ्नो निर्वाचन क्षेत्र सीमित नबसी अन्य क्षेत्रमा समेत सक्रिय रूपमा घरदैलो अभियानमा जुटिरहेका छन्। ढकालले औपचारिक रूपमा क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दर्ता गराए पनि हाल उनी क्षेत्र नम्बर–२ मा पुगेर प्रचारप्रसारमा सहभागी भएका छन्।
क्षेत्र नम्बर–२ मा रास्वपाका उम्मेदवार गोविन्द पन्थीसँगै ढकाल घरदैलो अभियानमा सहभागी हुँदै मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्। दुई उम्मेदवारको संयुक्त उपस्थितिले स्थानीय राजनीतिक माहोल थप तातिएको छ।
क्षेत्र नम्बर–१ मा ढकालको मुख्य प्रतिस्पर्धा एमालेका प्रदीप ज्ञवाली, कांग्रेसका डा. चन्द्र भण्डारी र नेपाली कम्युनिस्ट पार्टीका सुदर्शन बरालसँग हुने देखिएको छ। उता क्षेत्र नम्बर–२ मा गोविन्द पन्थीले एमालेका गोकर्ण विष्ट, कांग्रेसका भुवनप्रसाद श्रेष्ठ र नेपाली कम्युनिस्ट पार्टीका श्रीराम महतसँग चुनावी प्रतिस्पर्धा गर्नुपर्नेछ।
नयाँ दल र नयाँ अनुहारहरूले पुराना तथा प्रभावशाली नेताहरूसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्न लागेकाले गुल्मी जिल्लाको चुनावी वातावरणलाई विशेष चासोका साथ हेरिएको छ।
यसैबीच, उम्मेदवार ढकालले आफ्नो चुनावी प्रचार अभियानको खर्च विवरण सार्वजनिक गरेका छन्। उनले माघ ८ गते बेलुकी मालिका गाउँपालिकामा बसेका चार जनाको खर्च सार्वजनिक गर्दै एक रातमा जम्मा २ हजार ६२५ रुपैयाँ मात्रै खर्च भएको जानकारी दिएका छन्। साथै, उनले प्रचार अभियानमा मासु, मदिरा लगायतका अनावश्यक खर्च नगर्न आफ्ना समर्थक र कार्यकर्तालाई आग्रहसमेत गरेका छन्।
प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार












प्रतिक्रिया