काठमाडौं । नेपाली कांग्रेसले माघ १६ गते मधेस केन्द्रित बृहत् सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभा मधेस प्रदेशको राजधानी जनकपुरमा हुने छ।
पार्टीका एक पदाधिकारीका अनुसार कांग्रेस मधेस प्रदेश कार्यसमितिलाई पूर्ण रूपमा परिचालन गरी सभा आयोजना गर्न लागिएको हो। यस विषयमा आज बस्ने केन्द्रीय समिति बैठकमा छलफल गरी औपचारिक निर्णय गरिने छ। कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै देशभर चुनावकेन्द्रित सभाहरूको तयारी थालेको बताइएको छ।
कांग्रेस सभापति गगन थापासहितका शीर्ष नेताहरू माघ ११ गते मधेस प्रस्थान गर्ने कार्यक्रम छ। माघ १२ गते उनीहरू सर्लाही पुग्नेछन्। सभापति थापा सर्लाही–४ बाट उम्मेदवार रहेका छन्।
विशेष महाधिवेशनबाट पुस ३० गते सभापति गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन भएको थियो। सो कार्यसमितिका पदाधिकारीहरूले आज औपचारिक रूपमा पदबहाली गर्ने कार्यक्रम तय गरिएको छ।
यसैबीच, आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बस्दैछ। उक्त बैठकले कांग्रेसको भावी प्रधानमन्त्री उम्मेदवारका रूपमा सभापति गगन थापालाई तोक्ने निर्णय गर्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार












प्रतिक्रिया