काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारले आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ।
निर्धारित कार्यतालिकाअनुसार नाम फिर्ता लिने समय सकिएपछि आजै दिउँसो १ बजेदेखि ३ बजेसम्म देशभरका ७७ मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार आजै अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ।
आयोगका अनुसार हालसम्म पुरुष ३ हजार ८८, महिला ३९५ र तेस्रो लिङ्गी एक गरी कुल ३ हजार ४८५ जनाको उम्मेदवारी कायम रहेको छ। तीमध्ये चार जिल्लाका पाँच उम्मेदवारविरुद्ध उजुरी परेको थियो।
उजुरीको आधारमा कैलाली निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार रेशम चौधरीको उम्मेदवारी खारेज गरिएको छ। यस्तै, काठमाडौँ निर्वाचन क्षेत्र नं. १० मा कर्जा सूचना केन्द्रको कालोसूचीमा परेकी मितेरी पार्टीकी उम्मेदवार सुमित्रा बस्नेतको उम्मेदवारी पनि खारेज गरिएको निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयो।
प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार













प्रतिक्रिया