लुम्बिनी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी मनोनयन गरेकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार कर्भिका थापाले उम्मेदवारी फिर्ता लिएकी छन्।
उम्मेदवार थापाले स्थायी आवासीय अनुमतिपत्र (पिआर) परित्याग गरेको तीन महिना अवधि पूरा नभएकाले संविधानअनुसार उम्मेदवार बन्न नमिल्ने देखिएपछि उम्मेदवारी फिर्ता लिएको जानकारी विज्ञप्तिमार्फत गराएकी हुन्।
नेपालको संविधानको धारा २९१ अनुसार विदेशमा बसोबासका क्रममा प्राप्त स्थायी आवासीय अनुमतिपत्र (पिआर) परित्याग गरेको कम्तीमा तीन महिना पूरा भएपछि मात्र नेपालको कुनै पनि निर्वाचनमा उम्मेदवार बन्न पाउने व्यवस्था छ। सो संवैधानिक प्रावधानअनुसार आफू उम्मेदवार बन्न अयोग्य ठहरिएकाले पार्टीको आग्रहमा उम्मेदवारी फिर्ता लिने निर्णय गरिएको थापाले स्पष्ट पारेकी छन्।
थापाले आफ्नो उम्मेदवारीविरुद्ध निर्वाचन आयोगमा कुनै उजुरी नपरेको पनि उल्लेख गरेकी छन्। अध्ययनका क्रममा विदेशमा स्थायी आवास अनुमति लिएको भए पनि नेपाली नागरिकता र राहदानीबाहेक अन्य कुनै देशको नागरिकता वा राहदानी नलिएको उनले स्पष्ट गरेकी छन्।
संविधानको व्यवस्था बमोजिम पिआर परित्याग गरेको तीन महिना अवधि पूरा भएपछि मात्र निर्वाचनमा उम्मेदवार बन्न पाइने कुरा जानकारी पाएपछि आफू उम्मेदवारी फिर्ता लिने निष्कर्षमा पुगेको थापाको भनाइ छ।
यता उम्मेदवारी फिर्तासम्बन्धी निवेदन प्राप्त भएको र सो विषयमा आवश्यक अध्ययन भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार













प्रतिक्रिया